आइसिसी क्रिकेट विश्वकप लिग-२

नेपाल अमेरिकासंग १०६ रनले पराजित

केन्द्रभाग मिडिया

पोखरा ।
आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासंग पराजित भएको छ ।

आइतबार युएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा नेपाल अमेरिकासंग १०६ रनले पराजित भएको हो । अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा १५६ रन जोड्दा अलआउट भयो ।

लगातार विकेट गुमाएको नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले ३७ रन जोडे । उनले ३९ बलमा ४ चौका र १ छक्का प्रहार गर्न सके । अर्का ओपनर कुशल भुर्तेल भने डकआउट भए । उनी नेपालको इनिङ्सको दोस्रो बलमै क्याच भएका थिए ।

अन्तिमसम्म टिकेका दीपेन्द्रसिंह ऐरीले ४० रन जोडे । दशौं विकेटको रुपमा आउट भएका उनले ६० बल खेल्दा ३ चौका प्रहार गर्न सके ।

भीम सार्कीले २९ रनको योगदान दिए । भीमले ५० बलमा २ चौका र १ छक्का प्रहार गरे । भीम १५औं ओभरमा आउट भएपछिको अर्को ओभरमा आसिफ पेभिलियन फर्केका थिए । भीम र आसिफबीच दोस्रो विकेटका लागि ६९ रनको साझेदारी भयो ।

त्यसपछि रोहित पौडेल २ रन, आरिफ शेख २० र गुल्सन झा ३ रनमा आउट हुन पुगे । सोमपाल कामी ३६औं ओभरमा ११ रनमा आउट भए । दुई ओभरपछि करण केसी र सन्दीप लामिछाने लगातार आउट हुँदा कुनै रन जोड्न सकेनन् ।

नेपालको ब्याटरलाई सस्तैमा पेभेलियन फर्काउने क्रममा बलिङमा अमेरिकाका हर्मित सिंह एक्लैले ६ विकेट लिए । उनले ८.१ ओभरमा २७ रन मात्र दिए । त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ६ विकेटको क्षतिमा २६२ रन बनायो ।

अमेरिकाका लागि ओपनिङ ब्याटर स्मित पटेलले ७५ रन बनाए । ३३औं ओभरमा गुल्सन झाको थ्रोमा सोमपाल कामीबाट रनआउट हुनुअघि उनले १०० बल खेलेर ९ चौका प्रहार गरे ।

अर्का ओपनर आन्द्रेस गौसलाई आठौं ओभरमा करण केसीले भीम सार्कीबाट ११ रनमा क्याच गराए । कप्तान मोनाक पटेललाई आरिफ शेखले १० रन बनाएर खेलिरहदा एलबिडब्लूको धरापमा परेका थिए। सन्दीप लामिछानेले मुकामालालाई ४२ रनमा बोल्ड गरेका थिए ।

शायन जाहानगिरलाई दीपेन्द्रसिंह ऐरीले ११ रनमा आउट गरे । यस्तै सन्दीप लामिछानले शुभम रन्जनीलाई १९ रनमा गुल्झन झाबाट क्याच गराए । नटआउट रहेका मिलिन्ड कुमारले ७० रन बनाए । उनले ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे । हर्मित सिंहले ६ बलमा २ छक्का प्रहार गर्दै नटआउट १६ रन बनाए ।

बलिङमा सन्दीपले २ विकेट लिए । उनले १० ओभरमा ५६ रन खर्चिए । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले १(१ विकेट लिन सफल भए । करण केसीले सुरूवाती नौ ओभरको आफ्नो स्पेलमा २ मेडनसहित ३७ रन खर्चिए पनि अन्तिम ओभरमा २ छक्का र १ चौकासहित १९ रन खर्चिएका थिए ।

खेलमा नेपालले आठ बलर प्रयोग गर्‍यो । कप्तान रोहित पौडेल, विकेटकिपर आसिफ शेख र भीम सार्कीबाहेक बाँकी खेलाडीले बलिङ गरेका थिए ।

युएईमा नेपालले दुवै देशसँग २/२ खेल खेल्नेछ । नेपालले ३० अक्टोबरमा युएईसँग खेल्नेछ । त्यसपछि १ नोभेम्बरमा अमेरिका र ५ नोभेम्बरमा फेरि युएईसँग खेलेपछि नेपाली टोली स्वदेश फर्कनेछ ।

लिग(२ मा नेपालले आजको हारसँगै १७ खेलमा १२ अंक जोडेको छ । आज जित निकालेको अमेरिका भने शीर्ष स्थानमा उक्लिएको छ । अमेरिकाले स्टकल्यान्डसँग समान अंक जोडेको हो ।

आठ टोलीको यो प्रतियोगितामा स्कटल्यान्ड २४ खेलबाट ३० अंक जोड्दै दोस्रो स्थानमा छ । शीर्ष स्थानको अमेरिकाको २१ खेलबाट ३० अंक छ । अमेरिका बढि जित निकालेका कारण शीर्ष स्थानमा पुगेको हो ।

नेदरल्यान्ड्स पनि २४ खेलबाट २८ अंक जोडेर तेस्रो स्थानमा छ । चौथो स्थानको ओमानको २० खेलबाट २४ अंक, पाँचौ स्थानको क्यानडाको २४ खेलबाट २१ अंक र छैटौं स्थानको नामिबियाको समान खेलबाट १९ अंक छ । १२ अंक जोडेको सातौं स्थानमा रहँदा युएई ६ अंकसहित आठौं स्थानमा छ ।

  • ९ कार्तिक २०८२, आईतवार १८:४८ प्रकाशित