पोखरा ।
गत २३ र २४ भदौमा जेनजी आन्दोलनका क्रममा भएको आगजनी र त्यसपछि उत्पन्न परिस्थितिका कारण असुरक्षा बढेको भन्दै विभिन्न ठाउँमा सुरक्षा समितिहरु बन्ने क्रम जारी छ । यसैक्रममा पोखरा महानगरपालिका वडा नम्बर ४ मा रहेको गैह्रापाटनका बासिन्दा पनि आफ्नो टोलको सूरक्षा आफै गर्न संगठित भएका छन् । गैह्रापाटन समूह गठन गरेर उनीहरु आफै संगठित भएका हुन् ।
परोपकार नारी समूहकी अध्यक्ष मिनु कोइरालाको अध्यक्षता र वडा कार्यालयको संरक्षकत्वमा गठिन समूहमा टोल सुधार समिति, मिसा पुचा, सर्वेश्वर युवा क्लव, ज्ञानमार्ग टोल विकास समिति, पश्चिमाञ्चल मावि, कुमुदिनी होम्स र नविन माविसहितलाई समावेश गरेर समूह निर्माण गरिएको हो ।
गत २४ भदौमा सार्वजनिक सम्पत्तिको नस्ट हुँदा केही सुरक्षा गर्न नसकिएकाले ठूलो क्षति बेहोर्नु परेको अनि अब त्यस्तो नहोस् र आगामी दिनमा आउने अप्ठ्यारामा एकजुट भएर अगाडि बढ्ने उद्देश्यले समूह गठन गरिएको अध्यक्ष कोइरालाले बताइन् ।
वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले जेनजी आन्दोलनबाट उत्पन्न परिस्थिति पछि वडा भर पाँच वटा क्लस्टर निर्माण गरेर वडाको सुरक्षाका लागि अयिभान सञ्चालन गरिएको जानकारी दिए । नागरिक आफै माथि उठेर आफ्नो सुरक्षा आफै गर्नुपर्ने अवस्था आएकाले समूह निर्माण गर्नुपरेको उनले बताए । समूहले आफै सुरक्षा गस्ति गर्ने अनि जनतालाई सुरक्षा गर्दै र प्रहरीलाई पनि सहयोग गरेर समाजलाई शान्ति सुरक्षा दिन समूह गठन गरिएको जानकारी दिए ।
नेवाखल कास्कीका अध्यक्ष एवं कुमुदिनी होम्सका सञ्चालक असोक पालिखेले आफ्नो टोल आफैले सुरक्षा गर्नुपर्छ भन्ने शिक्षा गत २३ र २४ भदौको घटनाले दिएको चर्चा गरे । उनले अब टोलको सुरक्षा गर्न वडाले ल्याएको योजना सहि भएको र यसमा आफ्नो विद्यालय पनि सहभागी भएको बताए । कुमुदिनी होम्सले समूहमा खट्नेलाई पहिचान झल्काउन पोशाक प्रदान गरेको छ ।
स्थानीय टोल विकास समितिकी अध्यक्ष पवित्रा अधिकारीले आफ्नो टोलको सुरक्षा आफैले गर्नुपर्ने रहेछ भन्ने महसुस् भएर नै समूह गठन गरिएको बताइन् ।
पोखरा महानगरपालिका वडा नम्बर ४ का वडा सदस्य प्रकाश कोइरालाले वडालाई पाँच क्लस्टरलाई विभाजन गरेर समूह बनाइएको जानकारी दिए । यसरी समूह गठन भएपछि कुनै घरमा चोरी डकैती समेत हुन नदिने उद्देश्य राखिएको उनले बताए । समूहको शक्ति भन्दा ठूलो केही नहुने महसुस् भएकाले सार्वजनिक र व्यक्तिका सम्पत्ति जोगाउन समूह सक्षम हुने अपेक्षा राखे ।
















