साउदीबाट फर्किएका दुई श्रमिकमा मंकीपक्स संक्रमण

केन्द्रभाग मिडिया

काठमाडौै ।

साउदी अरबबाट फर्केका दुई श्रमिकमा मंकीपक्स संक्रमण देखिएको छ । संक्रमित एक नेपालीको अवस्था जटिल रेहेको बताइएको छ ।

पछिल्लो दस दिनमा साउदी अरबबाट फर्किएका दुई नेपालीमा मंकीपक्स (एमपक्स) पुष्टि भएको थियो । उनीहरूमध्ये गत शनिबार काठमाडौं आएका सिन्धुलीका ४४ वर्षीय पुरुषको अवस्था यसअघि पहिचान भएका संक्रमितको भन्दा जटिल देखिएको हो ।

उनी हाल सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेसनमा उपचाररत छन् ।छाला रोग विशेषज्ञ डा। सिवेन्द्रकुमार झाका अनुसार ती पुरुषको मृगौला, फोक्सो, कलेजो जस्ता संवेदनशील अंगलाई भने असर गरेको छैन । अनुहार, छाती, हातखुट्टालगायत शरीरभरि संक्रमण देखिएको छ । छालाको दृष्टिकोणबाट हेर्दा संवेदनशील तथा जटिल देखिएको झाले बताएका छन् । ती पुरुष साउदी अरबमा करिब १६ वर्षदेखि काम गर्दै आएका थिए । मंकीपक्स लागेपछि साउदी अरबकै अस्पतालमा १७ दिनदेखि उपचाररत थिए ।

उनी साउदी अरबबाट दोहा हुँदै शनिबार बिहान सवा १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । विमानस्थलबाट सिधै स्वयम्भूस्थित आफन्तकोमा गएका थिए । भोलिपल्ट आइतबार मात्र उपचारका लागि टेकु अस्पताल पुगेका थिए । नमुना परीक्षण गर्ने क्रममा उनलाई मंकीपक्स संक्रमण पुष्टि भएको थियो ।

गत पुस ५ मा साउदी अरबबाटै फर्केका तनहुँका ३६ वर्षीय पुरुषलाई पनि मंकीपक्स पुष्टि भएको थियो । उनको पनि टेकु अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले ती युवकको घाउ लगभग सुकिसकेको बताए । ‘

चिकित्सकका अनुसार मंकीपक्स संक्रमित व्यक्ति वा पशुसँगको सम्पर्कमा आउँदा, शरीरबाट निस्किएको थुक, र्‍याल, घाउ, खटिरा, भाइरस रहेको ओछ्यान र लुगाबाट सर्छ ।

  • १६ पुष २०८१, मंगलवार १६:३६ प्रकाशित