तीज सुरु, आज दरखाने दिन

केन्द्रभाग मिडिया

पोखरा ।

हरितालिका तीज आजबाट सुरु भएको छ । व्रतको अघिल्लो दिन महिलाहरुले विभिन्न परिकार बनाएर खाने प्रचलन छ । यही दिनबाट तीज सुरु भएको मानिन्छ । विशेषगरी  आज माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ ।

विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितहरूले योग्य पतिको माग गर्दै भोलिपल्ट निराहार व्रत बस्ने उद्देश्यले यो दिन घरघरमा खासगरी दूधबाट निर्माण मिष्ठान्न परिकार तयार गरी दर खाने चलन छ । तीजमा महिलाहरूले दरका रूपमा खीर, पुरी, तरकारी, सेल रोटी, मिठाइहरू आदि बनाउने परम्परा पनि छ ।

स्थान अनुसार दरखाने परिकारहरू फरक-फरक छन् । त्यस्तै आधुनिकतासँगै परिकारहरूमा पनि फरक आउन थालेको देखिन्छ । हिजोआज तीज आउनुभन्दा हप्तौँ अघिदेखि नै दर खाने र खुवाउने कार्यक्रम हुने गरेका छन् ।

तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं आडिलो परिकार दरका रुपमा खाई भोलिको व्रतका लागि पूर्व तयारी गर्छन् ।

आज दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

  • २० भाद्र २०८१, बिहीबार ०८:५९ प्रकाशित