पोउवा संघका मानार्थ सदस्य जर्मन नागरिक कुबेराको निधनमा श्रद्धाञ्जली सभा  

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा उद्योग वाणिज्य संघले आफ्ना मानार्थ सदस्य जर्मन नागरिक राइनर कुबेराको निधनप्रति दुःख व्यक्त गरेको छ । कुबेराको गएको असार २८ गते ८१ वर्षको उमेरमा  जर्मनमै निधन भएको थियो । कुबेरा पोखरा उद्योग वाणिज्य संघको साझेदार संस्था जर्मनीको माइञ्ज सहरमा रहेको हस्तकला उद्योग संघ ह्याण्डवर्कस्क्यामर राहिनहेसन ( एचडब्लुके माइञ्ज) को परियोजना प्रमुखको रुपमा लामो समय काम गरेका थिए ।

पोखरा उद्योग वाणिज्य संघले २०५१ सालमा पहिलोपटक एचडब्लुके माइञ्ज जर्मनीसँग सहकार्य सुरु गरेको थियो । ४ वर्षको लागि भनिएको सो साझेदारी करिब १६ वर्षसम्म निरन्तर कायम रहेको थियो । पोखरा उद्योग वाणिज्य संघको सचिवालय व्यवस्थापनदेखि विभिन्न व्यावसासायिक तालिम,अध्ययन अवलोकन भ्रमणको लागि ठूलो सहयोग प्राप्त भएको थियो ।

संघसँगको लामो सहकार्यमा एचडब्लुके माइञ्जबाट ६ लाख ७२ हजार २३७ युरो सहयोग प्राप्त भएको तथा १ हजार १०४ वटा कार्यक्रम भएको थियो । संघका पूर्वअध्यक्ष तथा सल्लाहकार अशोक पालिखेका अनुसार त्यो सहकार्यलाई परिणाममुखी बनाउन कुबेराको विशेष सहयोग रहेको थियो । नेपालको निजी क्षेत्रबाट पहिलोपटक कुनै विदेशी संस्थासँग भएको त्यो नै पहिलो सहकार्य भएको बताउँदै पालिखेले भने,‘ त्यो कालखण्डमा करिब २ हजार व्यवसायीहरुलाई विभिन्न तालिम र गोष्ठीको क्रममा जर्मनसमेत पठाइएको थियो ।’

एचडब्लु के माइञ्जले पोखरामात्र नभएर लमजुङ, म्याग्दी, तनहुँ, बागलुङ,गोर्खा,नेपालगञ्जको सचिवालय सुदृढीकरणमा पनि सघाएको तथा  स्याङ्जा र वालिङसँग पनि सहकार्य भएको उनले स्मरण गरे । परियोजना प्रमुखको रुपमा कुबेरा ४८ पटक नेपाल आएको र ३ जना नेपाली बालबालिकालाई छात्रवृत्ति प्रदान गरिरहेको पालिखेले जानकारी दिए ।

कुबेरालाई संघलाई दिएको योगदानको कदर गर्दै २०६७ कार्तिक २९ गते तत्कालीन अध्यक्ष कृष्णमोहन श्रेष्ठको अध्यक्षतामा भएको संघको बैठकले राइनर कुवेरासहित एचडब्लुके माइञ्ज जर्मनीलाई मानार्थ सदस्यता प्रदान गरेको थियो ।
श्रद्धाञ्जली सभामा बोल्दै पूर्वअध्यक्ष पालिखेले पोखरामा बेकरी,अटोमोवाइल्स।,उड कार्भिङजस्ता तालिम प्रदान गरी दक्ष जनशक्ति उत्पादनमा माइञ्जले अतुलीयन योगदान दिएको पनि बताए ।

संघका अर्का पूर्वअध्यक्ष वसन्त उदासले परियोजना प्रमुखको रुपमा कुबेराले संघ तथा पोखराप्रति देखाएको प्रेमको मुक्तकष्ठले प्रशंसा गरे । श्रद्धाञ्जली सभा तथा संघका अध्यक्ष पवनकुमार प्रजापतिले संघका मानार्थ सदस्य कुबेराप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको योगदानलाई संघले नबिर्सने बताए ।

संघका महासचिव बलराम आचार्यको संचालन रहेको कार्यक्रममा संघका पूर्वअध्यक्षहरु राजेन्द्रकुमार लालचन,विश्वशंकर पालिखे, दामु अधिकारीसहित संघका पदाधिकारी, पूर्वपदाधिकारी, कार्यसमिति सदस्य तथा पूर्वसदस्यहरुको उपस्थिति रहेको थियो ।

  • १७ श्रावण २०८१, बिहीबार १८:४७ प्रकाशित