गण्डकीका भौतिक पूर्वाधार मन्त्रीलाई कारबाहीको माग गर्दै ध्यानाकर्षण

केन्द्रभाग मिडिया

पोखरा ।
पत्रकारलाई कुट्नुपर्ने अभिब्याक्ति दिएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्री राजिब गुरुङ (दीपक मनाङे) लाई कारवाहीको माग गर्दै संसदीय पत्रकार मंच गण्डकीले कार्यवाहक मुख्यमन्त्री बिन्दुकुमार थापालाई ध्यानाकर्षण गराएको छ ।

पत्रकारका विभिन्न संघ संस्थाका प्रतिनिधि सहितको टोलीले मन्त्री गुरुङका पछिल्ला गतिविधिप्रति समेत ध्यानाकर्षण गराएका छन ।मंचका अध्यक्ष भरत कोइरालाले ध्यानाकर्षण पत्र बुझाउदै कारवाहीको माग गरेका हुन । मन्त्री गुरुङले आइतबार अनलार्ईन खबर डटकमका गण्डकी प्रदेश ब्यूरो प्रमुख अमृत सुवेदीको नामै लिएर कुट्नुपर्ने अभिव्यक्ती दिएका थिए ।

जिम्मेवार मन्त्रीले पदीय मर्यादाको ख्यालै नगरी भित्री बस्त्रमात्र लगाएर मन्त्रालयको कुर्चीमा बस्नु अशोभनिय कार्य रहेको ध्यानाकर्षण पत्रमा भनिएको छ ।ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘पदीय मर्यादाका साथमा नैतिक मूल्य र मान्यताका बारेमा मन्त्री आफै पनि सचेत हुनुपर्ने हो । त्यसका अतिरिक्त नेपाल सरकार र नेपालका कानुनलाई समेत आधार मानेर गण्डकी प्रदेश सरकारले मन्त्रीपरिषद्का सदस्यहले पालना गर्नुपर्ने आचारसंहिता २०७४ चैत २ गते प्रदेश मन्त्रिपरिषद्बाट जारी भएको सन्दर्भ स्मरण गराउँछौ ।’ ३० बुँदे आचारसंहिताको बुँदा नम्बर १२ मा ‘आफ्नो मन्त्रालयमा जाँदा वा औपचारिक कार्यक्रममा उपस्थित हुँदा भड्किलो रुपमाले प्रस्तुत हुने वा मद्यमान गर्नु हुदैन’ भन्ने छ ।

नैतिक आचरण ख्याल नगरी आचारसंहिता समेत कुल्चिदै मन्त्रालयमा अभद्र शैलीमा उपस्थित भएको तस्बिर सहितको समाचार लेखेका अमृत सुवेदीको नामै किटेर मन्त्रीबाट आएको अभिव्यक्तिले पत्रकारलाई त्रसित बनाएको भन्दै ध्यानाकर्षण पत्रमा यो स्वतन्त्र प्रेसमाथिको नांगो हस्तक्षेप भएको जनाइएको छ । यस अघि पनि गण्डकी प्रदेश सभा र अन्य सार्वजनिक कार्यक्रमहरुमा पत्रकार लक्षित गुरुङका अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको स्मरण पत्रमा गरिएको छ ।

  • १४ श्रावण २०८१, सोमबार १६:४१ प्रकाशित