उपसभामुखलाई कारबाही गर्न सांसदहरूको माग

केन्द्रभाग मिडिया

काठमाडौं ।

उपसभामुख इन्दिरा रानालाई कारबाही गर्न सांसदहरुले माग गरेका छन । गैर सांसदलाई अमेरिका भिसाको लागि सिफारिस गरेको दाबी गर्दै परेको उजुरीबारे प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको छलफलमा सहभागी सांसदहरुले पदीय मर्यादा भुलेर भिसा सिफारिस गरेकाले उपसभामुख रानालाई कारबाही गहुनुपर्ने माग गरेका हुन ।

समिति सदस्य वासुदेव घिमिरेले उपसभामुख रानासँग जोडिएको प्रकरणमा नेपाली व्यक्ति अमेरिका पठाउन खोजेको र लेनदेन पनि भएको कुरा बाहिर आएकाले गम्भीर रूपमा छलफल हुनुपर्नेमा जोड दिए । अर्की सदस्य ईश्वरी न्यौपानेले उपसभामुखले लेटर हेड दुरुपयोग गरेको तर्क गरिन् । ‘उहाँ (उपसभामुख)ले एक जना सहयोगी, ४ जना चिन्दिन भन्नुभयो । सहयोगी पनि रहेनछ । संस्थामा काम गर्ने व्यक्ति भन्नुभयो त्यो पनि हैन रहेछ’ उनले भनिन् ।

न्यौपानेले राना मगर विरुद्ध उनकै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा ९ लाख लेनदेन भएको भनेर उजुरी परेको विवरण सार्वजनिक भएको तर सामसुम पारिएको बताइन् । ‘यसको छानबिन हुनुपर्छ । विश्वमा नेपालको देशको उपसभामुख मानव बेचबिखनमा संलग्न भन्ने आरोप नलागोस्, नपरोस् । उहाँको छानबिन हुनुपर्छ । दोषी वा निर्दोष छुट्टाउनु पर्छ , स्पष्ट पार्नुपर्छ’ उनले भनिन् ।

समिति सदस्य ओनसरी घर्तीले उपसभामुखबारे आएको उजुरीको यथार्थ छुट्टाउन छानबिन प्रक्रिया अघि बढाउन माग गरिन । समितिको बैठक अहिले पनि जारी छ । भक्तपुर बालकोटका अर्जुन बास्कोटाले यही साउन १ गते समितिमा उजुरी दर्ता गराएका हुन् । बास्कोटाले समितिले भने अझैसम्म केही कारबाही अगाडि बढाएको जानकारी आफूलाई नआएको बताए । ‘त्यतिकै हराए जस्तो छ,’ उनले रातोपाटीसँग भने ।

‘कमिसन अन द स्टाटस अफ वुमन’ को ६७औँ सत्रमा भाग लिन जानका लागि उपसभामुख रानाले पाँचजनाको लागि अन्तर्वार्ताको मिति अघि सार्न अमेरिकी दूतावासलाई लेखेको पत्रले तरंग सिर्जना गरेको छ । २६ फेब्रुअरी २०२३ मा रानाले उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्ती मगर र धनप्रसाद गुरुङको अन्तर्वार्ता अघि बढाउन आग्रह गर्दै पत्र लेखिकी थिइन् ।

  • ९ श्रावण २०८१, बुधबार १३:०८ प्रकाशित