पोखरा ।
पोखरा महानगरपालिका वडा नं.१४ बाच्छिवुडुवा (वात्सायन क्षेत्र) मा सञ्चालित पुष्करिणी परोपकार गोकुलधाम (गौशाला) लाई माछापुच्छ्रे बैकंले नगद रु.१० लाख सहयोग प्रदान गरेको छ । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त सहयोग प्रदान गरिएको निर्देशक रोशन के.सीले बताए ।
केसीका अनुसार सडकमा छोडिएका पशुचौपायहरुलाई व्यवस्थापन गरी पालनपोषण गरिरहेको राष्ट्रिय परोपकार महासङ्घको पवित्र कार्यमा बैङ्कका तर्फबाट सहयोग गरिएको हो । छाडा पशु चौपायाको व्यवस्थापनले सडक सुरक्षामा पुग्ने अवरोधलाई न्यूनीकरण गर्न महत्त्वपूर्ण सहयोग पुग्ने के.सीको विश्वास छ । गौशालालाई उक्त सहयोग उपलब्ध गराएर बैंैकको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्न पाएकामा आफूहरूलाई गर्व लागेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बताए । स्व.सिताराम के.सीको सक्रियतामा पोखराबाटै स्थापना भई सञ्चालनमा रहेको माछापुच्छ्रे बैङ्क नेपालको बैङ्किङ क्षेत्रको अग्रणी वित्तीय संस्था मध्येको एक हो ।
सहयोग ग्रहण गर्दै राष्ट्रिय परोपकार महासङ्घका संस्थापक एवं गोकुलधामका परिकल्पनाकार भागवत आदि शास्त्रका वाचक युवा पण्डित कमलनयन गौतमले बैङ्क प्रति आभार प्रकट गरे । गोकुलधाममा रहेका पशुचौपायहरुको पालनपोषणका लागि विभिन्न दाताहरूबाट सहयोग आउने क्रममा जारी रहँदा बैङ्कले गरेको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बापत नगद रु.१० लाख बराबरको सहयोग निकै महत्त्वपूर्ण रहेको उनको भनाइ रहेको थियो । बोलीमा मात्र सीमित गौ सेवाको अभियानलाई व्यवहारिक बनाउने उद्देश्यले सरोकारवाला सबैलाई घचघच्याउनका लागि गोकुलधामको प्रारम्भ गरिएको उनले बताए ।
“यो समग्र रूपमा पोखराको अर्को एउटा नयाँ गन्तव्य स्थल बन्नेछ, यो केवल गोठ मात्र होइन, नजरले हे¥यो भने त गोठ हुन्छ, तर, सूक्ष्म आँखा खोल्यौ भने साँच्चीकै गौशाला हुन्छ, गौतमले भने, यो छाडा छोडिएका पशुहरूलाई थुन्ने कान्जी हाउन होइन यो, कान्जी हाउस पहिला थियो, अव यो पवित्र गौशालामा परिणत भइसकेको छ, यहाँ गौ माताको रेखदेख र सुसार हुन्छ ।” गोबर र गौमुत्रको प्रशोधन गरी दशौँ रोपनी बन्जर जमिनलाई अर्ग्यानिक उत्पादनको थलोका रूपमा विकास गरिएको उनले बताए । हाल गौशालामा २५० बढी गाईहरू संरक्षित छन् ।
पोखरा महानगरपालिकाको व्यवस्थापनमा सञ्चालित गौशाला सडकमा छोडिएका पशुचौपायहरुको आश्रय स्थल बनेको छ । साथै महानगर क्षेत्रमा पशुपालन व्यवसाय गरेका व्यवसायी तथा घरमा पालिएका घरपालुवा पशुचौपायका धनीहरूलाई जथाभाबी रूपमा सडकमा पशुचौपाय नछोड्न महानगरपालिकाले पटक पटक आग्रह गर्दै आइरहेको छ ।













