सीपयुक्त कोर्षमा पश्चिमाञ्चलको जोड

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा–४, गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले स्वरोजगारमूखि पाठ्यक्रममा जोड दिनेगरि योजना बनाएको बताएको छ । स्वरोजगारमूखि शिक्षा अभावमा स्वदेशमा काम नपाएको भन्दै युवायुवती धमाधम विदेश पलायन हुन थालेपछि अतिरिक्त पाठ्यक्रम पढाएर भएपनि विद्यार्थीलाई स्वदेशमै रोक्न पहल गर्ने विद्यालयको भनाई छ ।

शनिबार पोखराका संचारकर्मीसँगको छलफलमा विद्यालयका प्राचार्य सरोज कोइरालाले पाठ्यक्रम विकास केन्द्रले तोकेको कोर्षको भरमा मात्र विद्यार्थी स्वरोजगार बन्न सक्ने अवस्था नभएपछि अतिरिक्त कोर्षमा जोड दिएको बताए । विद्यार्थीलाई विदेशिनबाट रोक्नकै लागि भन्दै विद्यालयले पछिल्लो समय पढाई सक्नासाथ काम पाइने खालका विषयको अध्यापनमा जोड दिएको कोइरालाको भनाई छ ।

कोइरालाका अनुसार विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन र मानविकी संकायमा अध्यापन गराईरहेको विद्यालयले केही वर्षअघि कानुन संकायमा अध्यापन थालेको थियो । आगामि शैक्षिकसत्रदेखि सौन्दर्यकलाको पाठ्यक्रम पनि विद्यालयले अध्यापन गराउने तयारी थालेको छ । ‘स्वदेशमा काम नपाएकै भएर विद्यार्थीहरु बाहिर गएका हुन् । उनीहरुलाई स्वदेशमै कमाउने अवसर दिलाउने हो भने विदेश जानबाट केही हदसम्म रोक्न सकिन्छ,’ उनले भने, ‘त्यही भएर पढाई सक्नासाथ कमाउन सक्ने सीपयुक्त कोर्ष अध्यापनमा चाँसो दिएका हौ ।’

उनका अनुसार कानुन विषय पनि अध्ययन सक्नासाथ काम पाउने विषय हो । विद्यालयमा पढाई हुने आमसञ्चार तथा पत्रकारिता पनि उत्तिकै अब्बल छ । ‘कानुन, पत्रकारिता, सौन्दर्यकला, होटल व्यवस्थापन यस्ता विषय हुन, जसको अध्ययनपछि तत्कालै काम पाइन्छ । पत्रकारिता अध्ययन गर्दैमा पत्रकार नै हुनुपर्छ भन्ने छैन,’ कोइरालाले भने, ‘बाहिरबाट हेर्दा पत्रकारितामा आकर्षण कम देखिएपनि यसको महत्व र यसले दिलाउने सम्मान सोचेभन्दा बढी छ । पत्रकारिता पढ्दैमा पत्रकार नै बन्नुपर्छ भन्ने छैन । अध्ययन अनुसन्धानका अरु पनि पर्याप्त क्षेत्र छन । तर, त्यसबारे चाँसो कम भएको हो ।’ लेखन, अध्ययन, अनुसन्धानको क्षेत्रमा पनि पत्रकारिताको महत्व रहेको बुुझाउन नसकेको उनले बताए ।

सौन्दर्यकला पनि आकर्षक विषय रहेको उनले बताए । ‘सर्टिफिकेट हात परेपछि व्यावसाय थाल्न सकिन्छ । तत्काल कमाउने विषय सौन्दर्यकला हो,’ उनले भने । त्यस्तै होटल व्यवस्थापन र कानुनमा पनि अवसरै अवसर रहेको कोइरालाले बताए । ‘एकैपटक ठूलो कमाई खोजेर हूँदैन । अथक मेहनतपछि सफलता मिल्ने हो,’ उनले भने । विद्यालयले विद्यार्थीलाई उद्यमशिल बनाउनकै लागि पाठ्यक्रम विकास केन्द्रले तोकेको बाहेक थप कोर्ष अध्यापन गराउने योजना बनाएको कोइरालाले बताए ।

‘पाठ्यक्रम विकास केन्द्रले तोकेको त पढाउनै पर्छ । तर, त्यसले मात्र विद्यार्थीलाई व्यावहारिक बनाउन नसकेको हाम्रो ठहर छ । त्यसैले तालिम, प्रशिक्षण, प्रयोगात्मक, अतिरिक्त कक्षामा जोड दिने तयारी छ,’ उनले भने, ‘विद्यार्थीले आफुले पढेको विषयबारे तत्काल अभ्यास गराउनुपर्छ । सैद्धान्तिक ज्ञानले मात्र पुग्दैन ।’

विद्यालयका प्लस टु संयोजक देव क्षेत्रीले ५० प्रतिशत अतिरिक्त पाठ्यक्रम पढाएर विद्यार्थीलाई स्वरोजगारतर्फ आकर्षण गर्ने तयारी गरेको बताए । ‘सैद्धान्तिक ज्ञान त विद्यालयमा पाएका छन । तर, त्यसले मात्र पुग्दैन । अब हामीले विद्यार्थीलाई बास्तविक सीप सिकाउनेगरि अतिरिक्त कोर्ष डिजाईन गर्दैछौ ।’ अतिरिक्त कोर्ष डिजाइनका लागि सम्बन्धित क्षेत्रका विषयविज्ञ र सरोकारवालासँग बसेर छलफल गर्ने पनि उनले बताए ।

विद्यालयकी सह प्राचार्य मिनु श्रेष्ठ कुँवरले विद्यार्थीको विदेश पलायन रोक्न सक्ने अवस्था नभएको बताईन । ‘सबैजना विदेश जान थाले । स्वदेशमा काम नपाएको उनीहरुको गुनासो छ । अब ती विद्यार्थीलाई पढाई सक्नासाथ काम पाउने विषय अध्यापनमा जोड दिनुपर्छ,’ उनले भनिन, ‘त्यसमा पश्चिमाञ्चल माविले पहल थालेको छ ।’ पश्चिमाञ्चल माविमा हाल कक्षा ११ र १२ मा व्यवस्थापन, होटल व्यवस्थापन, विज्ञान, मानविकी र कानुन विषयको अध्ययन अध्यापन भईरहेको छ ।

 

  • २६ जेष्ठ २०८१, शनिबार २२:१३ प्रकाशित