ओटेफ गण्डकीको आयोजनामा बारिष्टा तथा बेकरी तालिम सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) गण्डकीको आयोजनामा पोखरामा बारिष्टा तथा बेकरी तालिम सम्पन्न भएको छ । पोखरा जाभा बारिष्टा स्कुलमा भएको तालिमको समापन कार्यक्रममा बोल्दै पोखरा महानगरका प्रमुख धनराज आचार्यले तालिमले पर्यटकीय राजधानी पोखरामा सेवाको गुणस्तर बस्ने विश्वास प्रकट गरे ।

उनले अहिले कफी संस्कृति बढ्दै गएको भन्दै समयको मागलाई ओटेफले बुझेर तालिम गरेको भन्दै आभार प्रकट गरे । पोखरा देशकै पर्यटकीय राजधानी घोषणा भएसंगै अन्य देशहरुले पनि पोखराको विकास निर्माण र सहकार्यमा चासो प्रकट गरेको उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा बार्षिक २० लाख पर्यटक भित्र्याउन सकिने धारणा राखे । त्यसका लागि पोखरा महानगरपालिकालाई प्रवद्धनात्मक कार्यक्रम गर्न उनले आग्रह गरे ।

कफीका परिकार र बेकरीका परिकार बनाउन आफूहरु सक्षम भएको भन्दै उनीहरुले यस्ताखालका तालिम समय समयमा उपलब्ध गराउनुपर्नेमा जोड दिए । ओटेभ गण्डकीका अध्यक्ष उमा भण्डारीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा उपाध्यक्ष एवं पोखरा जावा वारिष्टाका सञ्चालक ममता न्यौपानेले र महासचिव लक्ष्मी लामिछाने लगायतले तालिमका विविध पक्षका बारेमा बोलेका थिए ।

१५ दिनसम्म चलेको तालिममा २७ जना सहभागि थिए भने तालिममा दिव्या न्यौपाने, प्रज्वल पोखरेल, विजय लामा र सुमन तामाङले प्रशिक्षण दिएका उपाध्यक्ष ममता न्यौपानेले जानकारी दिइन् ।

  • १८ जेष्ठ २०८१, शुक्रबार २०:०८ प्रकाशित