पोखरामा मापसे र लापसे गरी सवारी चलाउने सात चालक नियन्त्रणमा

केन्द्रभाग मिडिया

पोखरा ।
मादक पदार्थ तथा लागुऔषध सेवन गरेर सार्वजनिक सवारीसाधन चलाउने सात जना चालकलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । यात्रुको ज्यान जोखिममा पार्ने गरी सवारी चलाएको पाइएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कात्तिक ९ गते दिउँसो करिब २ बजेर २५ मिनेटदेखि पोखरा महानगरपालिका–३० स्थित पावरहाउस चोकमा गरिएको सवारी जाँचका क्रममा सात चालक नियन्त्रणमा परेका हुन्।

पृथ्वीराजमार्ग सडकखण्डमा सञ्चालन हुने सवारीसाधनलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय कास्की मातहतको इलाका प्रहरी कार्यालय शिशुवा, वडा प्रहरी कार्यालय गगनगौंडा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट संयुक्त प्रहरी टोली खटिएको थियो।

प्रहरीले चालकहरूको मादक पदार्थ तथा लागुऔषध सेवनसम्बन्धी जाँच गरेको थियो । त्यस क्रममा ६ जना चालकले लागुऔषध सेवन गरेको र एक जनाले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–११ का ५३ वर्षीय खिमबहादुर खत्री, लमजुङको बेँसीसहर नगरपालिका–२ का २३ वर्षीय पवन परियार, शुक्लागण्डकी नगरपालिका–६ का ५८ वर्षीय दीपक विक, म्याग्दे गाउँपालिका–५ का २८ वर्षीय अमृत नेपाली, भिमाद नगरपालिका–५ का २३ वर्षीय कृष्ण परियार, म्याग्दे गाउँपालिका–६ का ३० वर्षीय मनिस गुरुङ र म्याग्दे गाउँपालिका–३ का २३ वर्षीय विवेक नेपाली रहेका छन्।

प्रहरीका अनुसार खिमबहादुर खत्रीले मादक पदार्थ सेवन गरेका थिए भने अन्य ६ जनाले लागुऔषध सेवन गरेको पाइएको हो। नियन्त्रणमा परेका सातै जना बस चालक हुन्।

लामो दूरीका सार्वजनिक सवारीसाधन चलाउने चालक नै मादक पदार्थ तथा लागुऔषध सेवन गरेको अवस्थामा भेटिनुले यात्रुको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार नियन्त्रणमा लिइएका चालकहरूमाथि थप अनुसन्धान तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ ।

  • ९ कार्तिक २०८३, सोमबार १९:४० प्रकाशित