सहकारी ठगीविरुद्ध कांग्रेसको विरोध प्रदर्शन

पोखरामा सातवटा सहकारीका बचतकर्ताले पनि गरे प्रर्दशन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सहकारी ठगीविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सडकमा पनि उत्रेको छ । कांग्रेसले आइतबार काठमाडौँको प्रदर्शनी मार्गमा विरोध प्रदर्शनको आयोजना गरेको हो ।

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने नै संलग्न रहेको दाबी गर्दै संसदीय समिति गठनको माग राखेर सदन अवरोध गरिरहेको कांग्रेस आइतबारदेखि सडकमा उत्रिएको छ । गत फागुनमा गठबन्धन फेरिएर सहकारी ठगीमा मुछिएका रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री बनेपछि संसदीय छानबिन समितिको माग गर्दै सदन अवरोध गरिरहेको छ ।

संसदमा कांग्रेसको नाराबाजीका बिच सरकार पक्ष पेलेर जान खोजेपछि कांग्रेस सडकमा उत्रिएको छ । गत बुधबार बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पार्टीको काठमाडौँ, ललितपुर र भक्तपुर कार्यसमितिको ब्यानरमा प्रदर्शन गर्ने निर्णय भएको थियो ।

प्रदर्शनमा कांग्रेसले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समिति गठन, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्तिबारे नारा अगाडि सारको छ ।

यसैबीच पोखरामा पनि सातवटा सहकारी संस्थाका बचतकर्ताले न्यायको माग गर्दै प्रर्दशन गरेका छन् ।सूर्यदर्शन, इमेज, मित्रमिलन, प्राइम, बलिदानी, शिवशिखर, विन्ध्यवासिनी गरी सात सहकारीका बचतकर्ताले बचत फिर्ताको माग गर्दै पोखराको पृथ्वीचोकमा प्रदर्शन गरेका हुन् ।

उनीहरूको विरोध कार्यक्रमलाई सात राजनीतिक दलले समर्थन गरेको थिए । पीडित बचतकर्ताहरूले ‘जीबी राई कहाँ छ रु रविलाई थाहा छ’, भन्ने नारा लगाएका थिए ।

 

  • १३ जेष्ठ २०८१, आईतवार १५:४३ प्रकाशित