कांग्रेसको नारावाजी पछि प्रतिनिधि सभाको बैठक स्थगित

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । कांग्रेसले नाराबाजी गर्दै अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आउँदो जेठ १ गते बेलुकी ६ बजे बस्ने गरी स्थगित भएको घोषणा गरेका हुन् ।

आजको बैठक शुरु हुनासाथ प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेरनरहेको बारेमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै निरन्तर नाराबाजी गरेको थियो । हिउँदे अधिवेशनमा पनि कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेको थियो । तर सत्ता पक्ष दलहरू समिति गठनमा सहमत भएका छैनन् ।

आज प्रतिनिधि सभाको बैठक शुरू हुनेबित्तिकै नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायत विपक्षी दलका सांसदले विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद गगन थापालाई बोल्न समय दिए ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस महामन्त्री थापाले सहकारी ठगीमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिने पर्याप्त प्रमाण भएकाले छानबिन समिति बनाउनुपर्ने माग गरे । सरकारले नै निहुँ खोजेकाले छानबिन समिति नबन्दासम्म संसद् चल्न नसक्ने कांग्रेस महामन्त्री थापाले बताए ।

संघीय संसद्को बर्खे अर्थात् बजेट अधिवेशन आजदेखि शुरु भएको हो । सभामुख देवराज घिमिरेले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएसँगै बजेट अधिवेशन शुरु भएको हो ।

सरकारले जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि १ जेठमा संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारले निर्णय गरिसकेको छ ।

  • २८ बैशाख २०८१, शुक्रबार १९:४८ प्रकाशित