डढेलो र आगलागी पीडितलाई राहतको व्यवस्था गर्न कांग्रेसको माग

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले डढेलो र आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकले देशभरका विभिन्न ठाउँमा डढेलो तथा आगलागीबाट मृत्यु भएकाहरूप्रति समवेदना व्यक्त गर्दै पीडितलाई राहतको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो ।

आगलागी र डढेलोबाट पीडितहरूलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरिएको पार्टीका प्रमुख सचेतक रमेश लेखकले बताए ।

त्यसैगरी बैठकले डढेलो तथा आगलागीबाट पाइप जल्दा देशका विभिन्न ठाउँमा खानेपानीको अभाव भएको भन्दै त्यसको पनि उचित व्यवस्था मिलाउन सरकारलाई सचेत गराएको छ ।

त्यसैगरी कांग्रेसले नेता प्रकाशमान सिंह, केन्द्रीय सदस्य अम्बिका बस्नेत, पूर्वमन्त्री शेषनाथ अधिकारीको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरेको छ ।

कांग्रेसले पार्टी नेता सूर्यमान गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ ।

  • २८ बैशाख २०८१, शुक्रबार १४:५४ प्रकाशित