सुनकोशी–मरिण डाइभर्सनको ब्रेक थ्रु : अर्थतन्त्रमा गुणात्मक योगदान पुर्‍याउने प्रमको विश्वास

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी(मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएसँगै राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताएका छन् ।

सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको आज सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा सुरूङ ‘ब्रेक–थ्रु’ गर्नुहुँदै प्रधानमन्त्री दाहालले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बृद्धि हुने विश्वास व्यक्त गरे ।

‘यस आयोजनाले मधेस प्रदेशका पाँच जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ, राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्नुका साथै बिजुली उत्पादन हुनेछ,’ प्रधानमन्त्री दाहालले भने, ‘आज सुरूङको ‘ब्रेक–थ्रु’ भएको छ, यस आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न हुनेछ ।’

सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजना रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आयोजनाहरू सम्पन्न हुँदा उत्पादकत्व अभिवृद्धि र समृद्धिको लक्ष्यमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘सुरूङमार्गको ब्रेक–थ्रु सम्पन्न हुँदा हामी सबैमा नयाँ ऊर्जा र प्रेरणा मिलेको छ । ठूला पूर्वाधार निर्माणमा उत्साह थपेको छ ।’

कृषि क्षेत्र नेपालको आर्थिक विकासको मुख्य मेरूदण्ड हुनुका साथै कुल ग्राहस्थ उत्पादनमा झन्डै एकतिहाइ योगदान रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले देशका लागि आवश्यकपर्ने खाद्यान्न आपूर्तिमा आत्मनिर्भर हुन, खाद्य सुरक्षाको सुनिश्चित गर्न, जनताको आर्थिक उत्थान र समृद्धिका साथै गरिवी न्यूनीकरण गर्न कृषि उत्पादन तथा उत्पादकत्व बृद्धि अपरिहार्य रहेको बताए ।

नेपालको ६० प्रतिशत कृषियोग्य भूमि तराई मधेश तथा भित्री मधेशभित्र नै पर्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तराई–मधेश क्षेत्रमा विकास भई सञ्चालन भइरहेका सिँचाइ आयोजनाहरू नदी बहाव प्रणालीमा आधारित रहेका बताए ।

हिमनदीहरूको पानी कृषि उत्पादनका लागि प्रयोग गरिनुपर्ने बताउँदै उनले सोही पानीको स्रोतलाई जलविद्युत् उत्पादन, खानेपानीलगायत अन्य प्रयोजनमा प्रयोग गरी राष्ट्रको समग्र विकास गरिने उल्लेख गरे ।

  • २६ बैशाख २०८१, बुधबार १७:०१ प्रकाशित