एमाले चितवनको जिल्ला अधिवेशन जेठ १० देखि १२ गतेसम्म

केन्द्रभाग मिडिया

चितवन ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशन जेठ १० गतेदेखि १२ गतेसम्म हुने भएको छ । अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा ४ सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ ।

अधिवेशनका लागि विभिन्न उपसमितिहरु समेत बनेका छन् । जिल्ला पदाधिकारीको वैशाख २० गते बसेको बैठकले वैशाख २९ गते एकैदिन जिल्लाभरि प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ । वडा कमिटीले २९ गते प्रतिनिधि छनोट गरेपछि जेठ २ गतेभित्र प्रतिनिधिको नाम जिल्लामा पठाइसक्नुपर्ने भनिएको छ ।

प्रतिनिधिको नाम जिल्लामा आइसकेपछि पुनः प्रतिनिधि व्यवस्थापन उपसमितिको बैठक बसेर प्राप्त नामहरुको सम्पूर्ण विवरणको रेकर्ड व्यवस्थापन गर्ने तयारी गरिएको कार्यालय सचिव श्यामकुमार विष्टले जानकारी दिए ।

करिब १२ हजार संगठित सदस्यहरुबाट प्रतिनिधि चयन गरी ७ सय ५० जना हाराहारीमा प्रतिनिधिहरु जिल्ला अधिवेशनमा सहभागी हुनेछन् ।

अधिवेशनले आगामी ३ वर्षको कार्यकालको लागि १ सय ४३ जना जिल्ला कमिटी चयन गर्नेछ । अधिवेशनको उद्घाटनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई निमन्त्रणा गरिएको जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए ।

  • २४ बैशाख २०८१, सोमबार ११:०८ प्रकाशित