ओटेफको टोली पोखराको पर्यटन प्रवद्धन गर्न दुबई प्रस्थान

केन्द्रभाग मिडिया

पोखरा ।

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को टोली पोखराको पर्यटन प्रवद्धनका लागि दुबई प्रस्थान गरेको छ । शनिबार राति दुबई प्रस्थान गर्ने टोलीको  शनिबार विहान लेकसाइडमा  विदाई गरिएको छ ।

विदाई कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले महिला पर्यटन व्यवसायीको दुबई भ्रमणले पोखरा र देशकै पर्यटन प्रवद्धनमा महत्वपूर्ण योगदान पुग्ने बताइन् । उनले दुबई आउने पर्यटकलाई पोखरा आकर्षित गर्न र त्यहाँ दिइने सेवाको बारेमा जानकारी लिएर पोखरामा पनि प्रयोग गर्न सकिने धारणा राखिन् ।

पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको पर्यटन प्रवद्धनमा महिला पर्यटन व्यवसायीको दुबई भ्रमणले थप टेवा पुग्ने धारणा राखे । यहाँका सबै पर्यटकीय संघसंस्था प्रवद्धनमा लागेको चर्चा गरेका उनले महिला पर्यटन व्यवसायीको सक्रियताले अझै उत्साह थपिएको बताए ।

विदाई कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण काकी, होटलसंघ पोखराका केन्द्रीय सदस्य भरतराज पराजुली, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी र ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुली लगायतले भ्रमणको सफलताको शुभकामना दिएका थिए ।

भ्रमण टोलीको नेतृत्व गरेकी ओटेफ अध्यक्ष उमा भण्डारीले पोखरालाई पर्यटकीय राजधानी घोषणा पछिको पहिलो कार्यक्रम पर्यटन प्रवद्धनमा सफल बन्ने बताइन् । उनले त्यहाँको आतिथ्य संस्कारको बारेमा जानकारी लिनुका साथै त्यहाँको पर्यटकलाई स्वागत सत्कार गर्ने शैली, सेवा प्रवाह इत्यादिको बारेमा जानकारी लिने बताइन् ।

अध्यक्ष भण्डारीका अनुसार टोली आइतबार विहान २ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबैका लागि प्रस्थान गर्नेछ । टोली ४ मेमा स्वदेश फर्कने उनले बताइन् ।

  • १५ बैशाख २०८१, शनिबार २२:१९ प्रकाशित