माछापुच्छ्रे माविलाई भारतीय दूतावासले दियो स्कुल बस

केन्द्रभाग मिडिया

पोखरा । भारतीय दूतावासले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित एक सामुदायिक विद्यालयलाई आज स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे –२ भुर्जुङखोलामा अवस्थित माछापुच्छ्रे माध्यमिक विद्यालयलाइ आज बस उपहारस्वरुप प्रदान गरेको हो ।

नेपालका लागि भारतीय रक्षा सहचारी कर्णेल अमित शर्माले विद्यालयमा आयोजित एक समारोहका बीच बसको शुभारम्भ गरे । विद्यालयका प्रधानाध्यापक सन्तोष आचार्यले सात सय भन्दा बढी विद्यार्थी अध्ययन गर्ने विद्यालयमा सार्वजनिक यातायात नियमित नहुँदा विद्यालय आउजाउ गर्न विद्यार्थीले भोग्नु परेको कठिनाइ अब समाधान भएको बताए । विद्यालयको आवश्यकता बुझेर बस सहयोग गरेकामा उनले दुतावासप्रति आभार व्यक्त गरे ।

प्रधानाध्यापक आचार्यले भराभरी, करुवा, मिर्सा, धिप्राङ लगायतका टाढाका गाउँबाट पैदल विद्यालय आउन दुई घण्टा बढी समय लाग्ने गरेकाले ती ठाउँहरुमा बस सेवा सञ्चालन गरिने जानकारी समेत दिए । उनले भने, “यहाँ चल्ने बसहरु नियमित नहुँदा विद्यार्थीको कक्षा छुट्ने गरेको थियो । दुई घण्टा हिँडेर स्कुल आउनुपर्ने बाध्यता अब हट्ने छ । हामीलाई आफ्नै बस भएपछि विभिन्न कार्यक्रमहरुमा विद्यार्थी लैजान समेत सहज हुनेछ ।”

सो अवसरमा भारतीय रक्षा सहचारी शर्माले नेपाल र भारतबीचको सम्बन्ध अत्यन्त प्रगाढ रहेको बताउँदै आगामी दिनमा समेत सहयोगको प्रतिवद्धता जनाए । स्कुल बस सहयोगले दुई देशबीचको सम्वन्ध थप बलियो बनाउन मद्धत पुग्ने उनको भनाई छ । आफ्नो लागि अर्को मातृभूमि र पावन भूमि नेपाल रहेको बताउँदै नेपालमा सहयोग गर्न पाउँदा खुशी लागेको शर्माले उल्लेख गरे ।

गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले भारतीय सहयोगप्रति आभार व्यक्त गरे । उनले माछापुच्छ्रे गाउँपालिकाका अन्य विद्यालयहरुमा समेत सहयोगका लागि आग्रह समेत गरे । वडाध्यक्ष गणेश आचार्यले स्कुल बस सुविधाबाट सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन र शैक्षिक गुणस्तर वृद्धि गर्न सहयोग पुग्ने बताए । विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बमबहादुर गुरुङले दूतावासबाट बस प्राप्त गर्नका लागि लामो समयदेखी गरेको प्रयास अहिले सफल भएको बताए ।

“स्कुल बसका लागि हामीले चार वर्षदेखी पहल गरेका थियौँ । यहाँका भूपू भारतीय सेनाहरुबाट समेत थप पहल भयो र अहिले ल्याउन सफल भएका छौँ । यसले विद्यालयको शैक्षिक विकासमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।” गुरुङले भने ।

  • ११ बैशाख २०८१, मंगलवार १२:५६ प्रकाशित