राष्ट्रिय माविको हीरक महोत्सव : पुर्नमिलनको तयारी पुरा, १५ जना पूर्व विद्यार्थीहरु सम्मानित हुँदै

केन्द्रभाग मिडिया

पोखरा ।

स्थापनाको ७५ औँ वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आउदो शनिबार अर्थात ८ वैशाखमा गर्ने वृहत पुर्नमिलन समारोहको तयारी पुरा भएको जनाएको छ ।

२० मंसिर ०८० मा आफनो स्थापनाको ७४ औँ वर्ष पुरा गरि ७५ औँ वर्षमा प्रवेश गरेको विद्यालयले हीरक महोत्सव २० मंसिर ०८० देखि २० मंसिर ०८१ सम्म एक वर्ष विविध कार्यक्रम गरि मनाईरहेको छ । महोत्सव वर्षभरि विभिन्न २२ कार्यक्रम गरि मनाउने घोषणा गरेको विद्यालयको भएको आउदो शनिबार पुर्नमिलन कार्यक्रम गर्न लागेको हो ।

हीरक महोत्सव वृहत पुर्नमिलन कार्यक्रमका संयोजक वसन्तराज अधिकारीका अनुसार शनिबार हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ । उनका अनुसार कार्यक्रममा विद्यालयका जग्गादाता, चन्दादाता, अक्षयकोषदाता, स्थापनाकालदेखि हालसम्म अध्य्यन गरेका पुर्व विद्यार्थी, पुर्व शिक्षक-कर्मचारी, पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एंव सदस्यहरुहरुको सहभागिता रहनेछ । एक हजार आठ सय जनाको सहभागिता रहने अपेक्षा गरिएको कार्यक्रममा परिचयसगैँ अनुभव आदान प्रदान गर्ने उदेश्य राखिएको उनको भनाई छ ।

संयोजक अधिकारीका अनुसार आफू पढेको विद्यालय प्रतिको भावनात्मक सम्बन्ध प्रगाढ बनाउन, परिचय तथा बन्धुत्व अभिवृद्धि, तथ्यांक अध्यावधिक, भौतिक संरचनाहरुको अवस्था जानकारीसहित आर्थिक स्रोत जुटाउने, शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि राय सुझाव संकलन, विद्यालयको सतबार्षिकी कार्यक्रमका लागि संकल्प प्रस्ताव तयार गर्ने, स्मारिकका प्रकाशन गर्नका लागि लेख रचना उपलब्ध गराउन र राष्ट्रिय गान भने झै विद्यालयको गान रचना गरी सहभागीहरुले उपलब्ध गराउने उदेश्य पुनर्मिलन कार्यक्रमको रहेको छ ।

कार्यक्रममा विद्यालयका अध्य्यन गरेका १५ जना पुर्व विद्यार्थीहलाई सम्मान गरिने विद्यालयका प्रधानाध्यापक ईश्वरी सापकोटाले जानकारी दिए । यस अघि गत २० मंसिरमा प्रभातफेरीसगैँ हीरक महोत्वको शुभारम्भ गरिएकोमा २० मंसिर २०८१ मा स्मारिकका विमाचन सगै हीरक महोत्सव समापन गरिने सापकोटाले जानकारी दिए ।

हीरक महोत्सवको अवसरमा विद्यालय परिसरमा विद्यालयको मुल प्रवेशद्वार निर्माण, विद्यालय मञ्च, हीरक स्मारक स्तम्भ, प्रशासनिक भवन निर्माण, शौचालय, ई–लाईब्रेरी, कम्प्युटर ल्याव विस्तार र स्तोरन्नति लगायतका भौतिक निर्माणका कार्यक्रमहरु समेत गरिने विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष एंव हिरक महोत्सव प्रचार प्रसार उपसमितिका सहसंयोजक रमेश प्रसाद पौडेलले जानकारी दिए । यस्का लागि दुई करोड ३५ लाख खर्च हुने अनुमान गरिएको पौडेलले बताए ।

  • ६ बैशाख २०८१, बिहीबार १०:१९ प्रकाशित