एकजुट भएर अगाडि बढ्न पूर्वराजाको आह्वान

केन्द्रभाग मिडिया

फाइल तस्बिर

 

काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको पुरानो गौरव फर्काउन सबै जुट्नुपर्ने बताएका छन् । जुम्लाको खलंगामा शुक्रबार भएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘आज देश कता जाँदैछ, तपाईंहरूलाई थाहै छ । हाम्रो अपार सम्पदा हुँदाहुँदै पनि हामी परनिर्भरतातिर गइरहेका छौँ ।

आफ्नै भूगर्भभित्र अथाह धन धान्य छ तर खानका लागि काम खोज्न हामी भौतारिइराखेका छौँ । कालीकोट, मुगु, हुम्ला, डोल्पा र यहाँ के छैनर ? तर खै ? त्यसैले म भन्छु अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौँ, देश बनाउनका लागि उठौँ र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौँ ।’

उनले परिवर्तन पीडादायी भए पनि सधैँ आवश्यक हुने बताए । उनले भने, ‘परिवर्तन साँच्चै पीडादायी भए पनि सधैँ आवश्यक हुन्छ । याद होस्, संसारको पाङ्ग्रा सधैँ आफ्नो गतिमा चलिरहेको हुन्छ । यो संसारमा जे आउँछ त्यो रहँदैन र जाने कुरा हराउँदैन ।’

अब नयाँ संवाद, नयाँ समझदारी र नयाँ सम्झौतातर्फ जनमत बढ्दै गइरहेको आफूले अनुभव गरेको बताएका छन् । उनले भने,’अब सुध्रौँ, अब चेतौँ र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाउँ, मार्ग सुधार गरौँ, नयाँ समझदारी, नयाँ संवाद, नयाँ वार्तालाभ, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ।’

  • २४ चैत्र २०८०, शनिबार २०:०८ प्रकाशित