ओली नेतृत्वको एमालेले देशका समस्या समाधान गर्न सक्दैन : महासचिव भुसाल (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले केपी ओली नेतृत्वको नेकपा एमालेले देशका समस्या सामाधान गर्छ भन्नु दिउसै रात पार्नु सरह भएको टिप्पणी गरेका छन् । शनिबार पार्टी निकट युवा संघ नेपाल कास्कीको ११ औं जिल्ला अधिवेशनलाई सम्बाधेन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले ‘जवसम्म एमालेमा केपी ओली गुटको नेतृत्व रहन्छ त्यतिबेलासम्म एमालेलाई लैजाने भनेको नर्ककै बाटो हो’ भनेका छन् ।

उनले यसो भन्दा आफूलाई खुशी भने नलाग्ने धारणा राखे । ‘त्यो आसाधारण शक्ति भएको कम्युनिष्ट पार्टीलाई छिन्नविन्न पार्ने, कुनै गल्ति कम्जोरीको महसुस् नगर्ने र अझै नेताहरुको मानमर्दन गर्ने केपी ओली गुटको नेतृत्वको एमालेले यो देशको तमाम समस्या समाधान गर्छ भन्नु दिउँसै रातपार्नु हो’ उनले भने ।

देशको वर्तमान अवस्था विग्रनुको प्रमुख कारण नै जुंगा कालो हुँदै गएका र कपाल पलाएका तर बुद्धि नपलाएका नेता रहेको उनले धारणा राखे । ‘हिजो एउटा ठूलै नेता आएर पोखरामा भनेछन् । मेरो जुंगा कालो हुँदै गएका छन् । कपाल पलाउन थालेको छ भनेछन् । देशको यो अवस्था हुँदा कपाल पलायो, जुंगा काला भए भन्नुको अर्थ के हो’ उनले प्रश्न गरे ।

जनताको विश्वास माथि केपी ओलीले गरेको अपराधको मूल्य मुलुकले चुकाइरहेको उनले सुनाए । ‘त्यो नेतृत्व जो हिजो पनि आएर दुनियाँलाई हेप्दैछ । पाटी उहाँको दाइजो हो ? उहाँको जिमिन्दारी हो ? जुन एमाले हिजो उहाँले चालाउनुभयो । आज जसरी चलाउनु हुँदैछ । त्यो नेतृत्वले देश चलाउँछु भन्ने कुरा बकवास बाहेक केही हुनैसक्दैन’ उनले भने ।

पोखरामा शुक्रबार केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालको आलोचना गर्दै आफ्नो जुंगा कालो हुँदै गरेको र कपाल पलाएको प्रसंग कोट्याउँदै ‘अब २० वर्ष कसैले हल्लाउन सक्दैन’ भनेका थिए ।

महासचिव भुसालले एमाले अध्यक्ष ओलीले प्रचण्डलाई, माधव नेपाललाई, झलनाथ खनाललाई र केही सांसदलाई ठिक पारे भन्ने लागेको हुनसक्ने भन्दै ओलीले अपराध नगरेको भए आज देशमा धेरैकूरा ठिकठाक भइसकेको हुने विश्लेषण सुनाए । ‘यत्रो जनमतलाई चितुवाले बाख्रो घिसारे झैं एमालेलाई घिसारेर सक्दै हुनुहन्छ । राष्ट्रिय राजनीतिमा गरेका त्यत्रा तमाम अपराध माथि त्यो पार्टीमा प्रश्न गर्ने हैशियत कसैले राख्दैन’ उनले भने ।

नेपाली कांग्रेसले झनै यो देशको समस्या समाधान गर्न नसक्ने उनले बताए । कांग्रेसको कुनै नीति र योजना नै नरहेको उनले आरोप लगाए । ‘कांग्रेसलाई १८ वर्ष पुगेपछि भोट हाल्न पाइन्छ भने पुग्छ । देशमा देखिएका तमाम समस्या कसरी समाधान गर्ने भन्यो भने समयले आफै समाधान गर्छ भन्छ । खुल्ला अर्थतन्त्रमा सबै प्रतिस्पर्धा हुन्छ भन्छ । सरकारी उद्योग कलकारखाना बेच्छ । अनि ठिक गर्यौं भन्छ । त्यस्तो पार्टी मुलुकका समस्या समाधान गर्ने कुरै भएन’ उनले भने ।

माओवादीले सबै पुराना संरचनालाई हल्लाएको टिप्पणी गरेका उनले देशका विद्यमान समस्या समाधान माओवादीले माओवादी भएर हल गर्न नसक्ने ठोकुवा गरे । ‘माओवादीले देशका पुराना संरचना एक पटक सबै हल्लायो । तर अब उसले सक्दैन । माओवादीको समस्या नै माओवाद हो । उसले तत्काल त्यसलाई छाड्ने सम्भावना पनि देखिँदैन’ उनले भने ।

आफ्नो पार्टी एकीकृत समाजवादी सानो मात्र नभएर देशको राष्ट्रिय पार्टी पनि बन्न नसकेको सुनाएका उनले देशका समस्या समाधानको उपाए भने आफ्नो पार्टीसंग रहेको दाबी गरे ।

  • २४ चैत्र २०८०, शनिबार १६:५५ प्रकाशित