पोखरा विश्वविद्यालयले पायो शिक्षण अस्पताल चलाउने अनुमति

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालन गर्ने अनुमति पाएको छ ।

विश्वविद्यालयलाई गण्डकी प्रदेश सरकारले शिक्षण अस्पताल सञ्चालनको अनुमति दिएको हो । १ सय शय्यासम्मको अस्पताल सञ्चालनको अनुमति प्रदेश सरकारले दिने कानुनी व्यवस्था छ । त्यसमाथिको अनुमति भने सङ्घ सरकारले दिन्छ । सर्त पालना गर्ने गरी ६ महिनाका लागि अस्पताल सञ्चालनको अनुमति दिइएको प्रदेशका स्वास्थ्य सचिव डा विनोदविन्दु शर्माले जानकारी दिए । उनका अनुसार सर्तहरू पालना भए स्थायी रूपमा सञ्चालन अनुमति दिइने छ ।

‘अस्पताल सञ्चालनका लागि निवेदन आएपछि मन्त्रालय र निर्देशनालयको टोलीले पटक पटक स्थलगत अनुगमन गरेको छ,’ उनले भने, ‘अनुगमन प्रतिवेदनकै आधारमा अनुमति दिइएको हो ।’ अनुमति दिनुअघि जनरल वार्ड र जनशक्तिको राम्रो व्यवस्थापन, सिएसएसडी, लन्ड्री र ब्लड बैंकको उचित व्यवस्थापन, एम्बुलेन्सको व्यवस्था, इएमआर सिस्टम, फार्मेसीलाई पर्याप्त ठाउँमा स्थानान्तरण, फोहोरको उचित व्यवस्थापन लगायत सर्तहरू अघि सारेको छ ।

सबै सर्त पालना गर्न सहमत भएपछि अनुमति दिइएको हो । विश्वविद्यालयले गत वर्षदेखि अस्पताल सञ्चालन गरेको हो । अहिले ओपीडी सेवा चलिरहेको छ । ३० जना स्वास्थ्यकर्मीबाट सेवा दिइएको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।

  • २२ चैत्र २०८०, बिहीबार १५:०७ प्रकाशित