सेन्ट्रल गार्डनद्वारा विद्यार्थीलाई सहायता सामग्री हस्तान्तरण

केन्द्रभाग मिडिया

पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । क्लबको वार्षिक कार्ययोजनानुसार स्याङ्जाको भाटखोलामा रहेको श्री शारदा रमणीय डाँडा आधारभूत विद्यालयलाई उक्त सहायता सामग्री हस्तान्तरण गरेको हो । क्लबका संस्थापक अध्यक्ष हरि भाटसहितका पदाधिकारीले विद्यालयका प्रधानाध्यापक दीपक रानाभाटलाई विद्यालय पोशाक, स्टेशनरी, पुस्तकलगायतका शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि क्या. हुमबहादुर रानाभाटले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा अभिभावक सचेत हुनुपर्नेमा धारणा राखे ।

रानाभाट, भाट समाज जिल्ला समिति स्याङ्जाका अध्यक्ष लालबहादुर रानाभाटले सामुदायिक विद्यालयका पर्याप्त सकारात्मक पक्ष रहँदा रहँदै विद्यार्थी संख्या घट्न पुगेकाप्रति चिन्ता व्यक्त गरेका थिए । क्लबका संस्थापक अध्यक्ष हरि भाटले विद्यार्थीका लागि लायन वर्ष २०२३÷२४ का अध्यक्ष तुल रानाभाटको पहलमा स्कुल डे«ससहित ४० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको जानकारी दिए ।

स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाटले लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले प्रचारमुखी नभएर प्रत्यक्ष जनस्तर लक्षित व्यवहारोपयोगी कार्यक्रम गर्दै आएकामा आभार व्यक्त गरे । विद्यालयका पूर्व विद्यार्थी असफल गौतमले सामाजिक संघसंस्थाको सहयोगले विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थी संख्या वृद्धि गर्नमा यस्ता कार्यक्रमको ठूलो भूमिका रहने बताए । साथै असफल गौतमले विद्यालय सर्वोत्कृष्ट हुन सफल छात्रा काजल विकलाई पुरस्कृतसमेत गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दीपक रानाभाट, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्णबहादुर रानाभाट, जनप्रिय मा.वि.का शिक्षक पदम रानाभाट, समाजसेवी कुलबहादुर रानाभाटलगायतले मन्तव्य राखेका थिए ।

  • १९ चैत्र २०८०, सोमबार १७:२० प्रकाशित