होलीको पूर्वसन्ध्यामा पोखरामा ओडिसी नृत्य

केन्द्रभाग मिडिया

तस्बिर सौजन्य : अध्यक्ष, पोमनारायण श्रेष्ठ, पोखरा पर्यटन परिषद्

पोखरा ।

भारत–नेपाल साँस्कृतिक सम्बन्ध मनाउन होलीको पूर्वसन्ध्यामा पोखरामा ओडिसी नृत्य कार्यक्रम सम्पन्न भएको छ । भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द साँस्कतिक केन्द्र, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यक्रमको उद्घाटन गरेको उक्त कार्यक्रममा गण्डकी प्रदेश सरकार र कास्की स्थानीय सरकारका विशिष्ट व्यक्तिहरुको समेत उपस्थिति रहेको भारतीय दुतावासले जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दे गण्डकीका मुख्यमन्त्री पाण्डेले नेपाल र भारतबीच धेरै साँस्कृतिक समानता रहेको रहेको धारणा राखे । उनले यस कार्यक्रमले दुई देशको विविधतालाई देखाउन मद्दत पुगेको उल्लेख गरे । भारतीय राजदूतावासका प्रथम सचिव अविनाश सिंहले भारत र नेपालबीचको सदियौं पुरानो साँस्कृतिक सम्बन्ध बारे बताउदै पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेकोमा स्वागत गरे ।

वसन्तको रङ प्रस्तुत गर्दै भारतीय शास्त्रीय नृत्यको कठिन चाल तथा भेषभूषामा ओडिसी नृत्य प्रस्तुत गरिएको थियो । साथै लाखे नृत्यसँगै नेपाली लोक नृत्यको नेतृत्व निश्कल उदास गरेका थिए । उनलाई संगितकार निशान श्रेष्ठ, विशेष ताम्राकार, सम्बोधी उदास, सम्राट भारी र आयुष श्रेष्ठले साथ दिएका थिए ।

बाराही घाट लेकसाइड पोखरामा आयोजित उक्त कार्यक्रममा ५०० भन्दा बढी मानिसको उपस्थिति थियो । काकली बोसको नेतृत्वमा रहेको ओडिसी नृत्य टोलीले ९ चैत्रमा काठमाडौंमा आफ्नो प्रस्तुति देखाएको थियो भने ११ चैतमा लुम्बिनी, १३ चैतमा वीरगंज र १४ चैतमा धरानमा प्रस्तुति दिने कार्यक्रम रहेको जनाइएको छ ।  

 

  • १० चैत्र २०८०, शनिबार २२:२० प्रकाशित