त्रिविको उपकुलपति पदका लागि दरखास्त आह्वान

केन्द्रभाग मिडिया

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान भएको छ ।

खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न माग भइरहेका बेला त्रिविको उपकुलपति नियुक्तिका लागि सिफारिस समितिले दरखास्त आह्वान गरेको हो ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज गोरखापत्रमा सूचना प्रकाशन गर्दै दरखास्त आह्वान गरेको हो ।योग्यता पूरा गरेका इच्छुक नेपाली नागरिकलाई आजदेखि १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारस्थित समितिको कार्यालयमा दरखास्त पेस गर्न आह्वान भनिएको छ ।

१६ कात्तिकमा प्राडा धर्मकान्त बाँस्कोटा पदावधि सकिएर पदमुक्त भएपछि त्रिभुवन विश्वविद्यालय उपकुलपति विहीन छ । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसाललाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिएका थिए । त्यसको भोलिपल्ट उपकुलपति नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको संयोजकत्वमा सर्च कमिटी गठन भएको थियो ।

  • २० पुष २०८०, शुक्रबार ०९:१० प्रकाशित