त्रिविबाट ७३ हजार विद्यार्थी दीक्षित, बनायो विश्वकीर्तिमान

केन्द्रभाग मिडिया

काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालयले ५ अध्ययन संस्थान र ४ संकायका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसबाट पढाइ पूरा गरेका ७३ हजार ७ सय ४९ विद्यार्थीलाई सोमबार दीक्षित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ४९ औं दीक्षान्त समारोहस्थलबाट १२ हजार ४ सय १५ जना दीक्षित भएका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

दीक्षित हुने विद्यार्थी गाउनमा सजिएर अभिभावकसँगै समारोहस्थलमा गएका थिए । विद्यार्थी, अभिभावकको भीडभाडले त्यसक्षेत्रको ट्राफिक व्यवस्था भने प्रभावित भएको थियो ।

गत वर्षहरूमा पनि त्रिविले ६० देखि ७० हजारको हाराहारीमा वार्षिक रूपमा विद्यार्थी दीक्षित गर्दै आएको छ । त्रिभुवन विश्वविद्यालयले एकै दिन सर्वाधिक भौतिक उपस्थितिमा विद्यार्थीहरूलाई दीक्षित गरेको विश्वकिर्तिमान बनाएको छ ।त्रिविले विश्वकीर्तिमान बनाउने दाबीसहित गिनिज बुक अफ वर्ल्ड रेकर्डलाई निम्त्याएको थियो । सोहीअनुसार अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) का प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वकीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरे ।

त्रिवि उपकुलपति डा। शिवलाल भुसालका अनुसार ओडब्लुआर गिनिज बुककै भगिनी संस्था हो । गिनिज बुकले सबै प्रमाणहरूको अध्ययन गरेपश्चात अर्को प्रमाणपत्र दिने उनको भनाइ छ

स्वदेशमा उपयुक्त रोजगारीको अभावका कारणले मात्र विद्यार्थी विदेश पलायन हुने गरेको उपकुलपति भुसालले जनाए । त्रिविले उत्कृष्ट विदेशी विश्वविद्यालयसँगको सहकार्यमा शैक्षिक कार्यक्रम अघि बढाउने उनले बताए ।

  • २ पुष २०८०, सोमबार १६:४५ प्रकाशित