विद्यार्थी र कामदार भिसामा बेलायत जान कडाइ

केन्द्रभाग मिडिया

काठमाडौं ।

बेलायत सरकारले विदेशी कामदार तथा विद्यार्थीहरूको संख्या कटौती गर्न आप्रवासनसम्बन्धी नीतिमा संशोधन गरेको छ । बेलायतका गृहमन्त्री जेम्स क्लेभर्लीले आप्रवासीहरूको संख्या घटाउन पाँच बुँदे योजना अघि सारेका छन् ।

बीबीसीका अनुसार दक्ष कामदार भिसा पाउन योग्य आप्रवासी श्रमिकले एक वर्षमा कम्तीमा ३८ हजार ७०० पाउड कमाउनुपर्नेछ । त्यो भनेको नेपाली करिब ६५ लाख रूपैयाँ हो । त्यस्तै डिपेन्डेन्ट भिसाका लागि निवेदन दिँदा पनि उक्त व्यक्तिले त्यति नै रकम अर्थात ३८ हजार ७०० पाउण्ड कमाएको हुनुपर्छ । यसअघि यो रकम १८ हजार ६०० पाउन्ड थियो ।

प्रस्तावित नयाँ व्यवस्थामा दोब्बर गरेर आप्रवासी कामदार संख्या व्यापक कटौती गर्न खोजिएको छ ।

यसका साथै केयर गिभरमा काम गर्न जानेहरूले आफ्नो परिवारका आश्रित सदस्य (श्रीमती, छोराछोरी) कसैलाई पनि बेलायत लैजान नपाउने व्यवस्था गरिएको छ । बेलायतमा काम गर्ने विदेशी कामदारका लागि वार्षिक अतिरिक्त स्वास्थ्य शुल्क भने बढाइएको छ । प्रस्तावित व्यवस्थामा १ हजार ३५ पाउन्ड हेल्थ चार्ज राखिएको छ ।

यसअघि बेलायतमा केयर गिभर काम गर्नेले पनि डिपेन्डेन्टमा आफ्ना परिवारका सदस्यलाई लैजान पाउँथे । अब सो व्यवस्था खारेज भएको छ । यसको उद्देश्य केयर वर्कर घटाउनु रहेको गृहमन्त्रीले बताएका छन् । आप्रवासी कामदार घटाउन दक्ष कामदारको तलबमान बढाइको सरकारी अधिकारीहरूलाई उदृत गर्दै बेलायतका कानूनी विषयमा समाचार दिने जुरिस्ट न्युजले जनाएको छ ।

  • २१ मंसिर २०८०, बिहीबार १६:५९ प्रकाशित