स्कुल नआएको भन्दै शिक्षकले घरमै गएर बालिका कुटे

केन्द्रभाग मिडिया

रूपन्देही ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ७ बर्गदवास्थित बर्दघाट कालिका बोर्डिङ स्कुलमा अध्ययनरत बालिकालाई विद्यालयका शिक्षक निरञ्जन यादवले निर्घात कुटपिट गरेपछि अभिभावक र स्थानीय आक्रोशित भएका छन् ।

शिक्षकको गतिविधिविरुद्ध स्थानी जनप्रतिनिधि, अभिभावहरू एकजुट भएर कारबाहीका लागि प्रहरीमा उजुरी दिएका छन्, भने विद्यालयमा तालाबन्दी गरेका छन् ।

कक्षा एकमा अध्ययनरत ९ वर्षीया कञ्चना राजभरलाई विद्यालयको सहायक प्रधानाध्यापक रहेका यादवले लौरोले पिठ्युँमा निर्घात कुटपिट गरेपछि बालिकाको शरीरमा रातो डाम बसेको छ ।

बालिकाको घरमा गएर समेत विद्यालय किन नआएको भन्दै कुटपिट गरेका यादवले विद्यालय आएपछि लौरो र लात्तिले प्रहार गरेको अभिभावकले बताएका छन् ।

घटनापछि विद्यालयमा तालाबन्दी गरिदिएको छ। शिक्षक यादवले पटक पटक विद्यालयमा बालबालिकालाई कुटपिट गर्दे आएको स्थानीयले बताएका छन् ।

पीडित बालिका राजभरलाई विद्यालय नआएको भन्दै घरमै कुटपिट गरेको र विद्यालय गएपछि पनि मरणासन्न हुने गरी कुटेको बालिकाले बताएकी छन् ।उनी हिँड्न पनि नसक्ने अवस्थामा घर आएपछि बल्ल थाहा पाएको अभिभावकको भनाइ रहेको छ ।

छतमा लगेर कुटपिट गरेको र कुटपिटपछि बालिका तल्लो तलामा झर्नसमेत नसकेपछि साथीहरूको सहयोगमा झरेको बताएकी छन् । स्थानीयले कुटपिट गर्ने शिक्षकलाई कडा कारबाही गर्न माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा पीडितले उजुरी दिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक काजीकुमार आचार्यले कुटपिट गर्ने विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।

  • २० मंसिर २०८०, बुधबार १६:०१ प्रकाशित