लेकसिटी कलेजमा संगीतमय कार्निभल

केन्द्रभाग मिडिया

पोखरा ।

लेकसिटी कलेजले दसैंँतिहारको अवसर पारेर विद्यार्थीलाई सैद्धान्तिक शिक्षा सँगसँगै व्यावहारिक ज्ञान समेत बढाउने उद्देश्यले शनिबार लेकसिटी कार्निभल सम्पन्न गरेको छ । कार्निभलमा विद्यार्थीले थरीथरीका स्टलमा विभिन्न परिकार, हस्तकला र किताब बिक्री गरे व्यवहारिक ज्ञान लिएको कलेजका भाइस प्रिन्सिपल आमोद कोइरालाले जानकारी दिए ।

बिबिएस चौथो वर्षमा अध्ययनरत प्रीति गुरुङले स्टलमा पपकर्न र ससेज, आलु लगायत फास्ट फुडका परिकार राखेकी थिइन् । यसरी, स्टलमा बसेर व्यापार गर्दा गुरुङले नौलो अनुभव गरेको बताइन् । नयाँ नयाँ मान्छेसँग कसरी कुराकानी गर्ने, कसरी फेस गर्ने ? थाहा भयो, प्रीतिले सुनाइन् ।

दिनभरको कलेक्सन जम्मा भइसकेको थिएन । प्रीतिले सरदर ३/४ हजारको व्यापार गरिन् । किताबमा पढेको कुरा व्यवहारमा लागू गर्न पाउँदा प्रीति उत्साहित देखिएकी थिइन् । बिएस ड्ब्लु दोस्रो वर्ष पढ्दै गरेकी तेन्जिङको स्टलमा पनि फास्ट फुड आइटम थिए ।

तेन्जिङले पनि लाफिङ बिक्री गरेर प्रितीले जस्तै फरक अनुभव गरिन् । कलेज तेन्जिङ कार्निभलमा आएका नयाँ पाहुनासँग ठट्यौली पारामा प्रस्तुत भइरहेकी थिइन् ।

नजिककै स्टलमा बबल टी, कफी र लस्सीको स्टल राखेका अनुपम पोखरेल पनि लेकसिटी कार्निभलमा उत्साहित देखिएका थिए । पोखरेल पोखरा ट्रेडमहलमा ४ वर्ष यता व्यापार गरिरहेका छन् । तर, कलेजको माहोलमा थप उत्साहित भएको उनले बताए ।

‘कलेजमा यसरी सबैजना हुँदा रमाइलो लागिरहेको छ । ट्रेड महलमा पनि ग्याजेट सप चलाइरहेको छु । अहिले दुई महिना जति भयो, कफी सप पनि चलाइरहेको छु,’ उनले भने । पोखरेल बिबिएस चौँथो वर्षमा अध्ययनरत छन् ।

कलेज मेलामा रन्जु गुरुङ र स्वस्तिका लामाले क्याराओक ल्याएका थिए । दुवै साथी मिलेर नयाँ टेस्ट हुन्छ भनेर क्याराओक ल्याएको बताए । क्याराओकमा कुनै पनि गीतको लिरिक्स हेर्दै गीत गाउन पाइन्छ । १० मिनेट गीत गाएको १०० रूपैयाँका दरले शुल्क लिएको रञ्जु गुरुङले बताइन् । कलेजमा नयाँ टेस्ट ल्याउँदा उत्साहित भएको उनले सुनाइन् ।

बगरबाट कलेज कार्निभलमा आएका पुरुषोत्तम मानन्धर र राधा मानन्धरले विद्यार्थीलाई प्रयोगात्मक ज्ञान पनि दिएकोमा खुसी माने । ‘ठिकै लागिरहेको छ । विद्यार्थीलाई नयाँ नयाँ प्रयोग गराइरहेको छ,’ पुरुषोत्तमले भने ।

  • २८ आश्विन २०८०, आईतवार १९:२७ प्रकाशित