काठमाडौँ ।
चार दिनदेखि जारी नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको मतदान आज (बिहीबार) बेलुका ६ बजेबाट सुरु हुने भएको छ ।
यसअघि निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले बिहीबार दिउँसो ४ बजेबाट मतदान गर्ने कार्यतालिका बनेको बताएका थिए तर पछिल्लो कार्यतालिका अनुसार साँझ ६ बजेदेखि १० बजेसम्मलाई तोकिएको कार्यतालिका सार्वजनिक भएको छ ।
नेकपा एमालेले प्रदेश कमिटीको आकार पनि बढाएको छ । यसअघि पाँच पदाधिकारीसहित २४० सदस्यीय प्रदेश कमिटी बनाउने निर्णय गरेको एमालेले ५ सङ्ख्या बढाएर २४५ बनाउने भएको छ ।
वामगती प्रदेश कमिटीको अध्यक्षमा पाँच जनाले उम्मेदवारी दर्ता गरेका छन् । कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल, सानु श्रेष्ठ, केशर बुढाथोकी र केशवराज पाण्डेले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
एमाले नेतृत्वले सहमतिमै प्रदेश कमिटी चयन गर्न गरेको प्रयास असफल भएपछि आकाङ्क्षीहरूले उम्मेदवारी दर्ता गरेका हुन् । अध्यक्षमा पाँच जनाले उम्मेदवारी दर्ता गरे पनि अन्तिम प्रतिस्पर्धा ढुङ्गेल र दाहालबीच हुने प्रतिनिधिहरूको अनुमान छ ।
यद्यपि निर्वाचन मण्डलले अध्यक्षमा ढुङ्गेल र दाहालका बीचमा पनि सहमति खोज्ने प्रयास जारी राखेका छन् । अध्यक्ष मण्डलका सदस्य रामेश्वर फुयाँलले मतदान र सहमति दुवै प्रक्रिया सँगसँगै अघि बढेको बताए ।













