पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको घट्यो

पेट्रोल लिटरमा ९ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ७ रूपैयाँ बढेको छ, खाना पकाउने ग्यास सिलिन्डरमा १३० रूपैयाँ घटेको छ

केन्द्रभाग मिडिया

पोखरा । सरकारले पेट्रोल, डिजेल, मट्टीतेलको मूल्य बढाएको छ भने खाना पकाउने ग्यासको मूल्य घटाएको छ ।

आज (मंगलबार) मध्य राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भूल्य बढाएको र ग्यासको घटाएको हो ।

निगमले एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा ९ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ७ रूपैयाँ बढाएको जानकारी दिएको छ । त्यस्तै खाना पकाउने ग्यासको भाउ सिलिन्डरमा १३० रूपैयाँ घटाएको छ ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मूल्य तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर आठ रूपैयाँ १४ पैसा र डिजेलमा ६ रूपैयाँ ८६ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ । ग्यासमा भने प्रतिसिलिन्डर ११७ रूपैयाँ ६२ पैसा घटाएर पठाएको छ।

निगमले मूल्य अभिवृद्धि करको प्रभाव एवं हालसालै लागू भएको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि–२०८० अनुसार आइओसीले पठाएको मूल्यमा नेपाली बजारको भाउ तय गरिएको जनाएको छ ।

  • १६ श्रावण २०८०, मंगलवार २१:०९ प्रकाशित