काठमाडौँ ।
नेपाली कांग्रेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी कांग्रेसले आफुहरुलाई झुक्याएको आरोप लगाएका छन् ।
जोशीले प्रेस विज्ञप्ति निकाल्दै नेपाली कांग्रेसले आफूलाई झुक्याउने काम गरेको बताएका हुन् । उनले कांग्रेससँग पहिलो चरणको वार्ता समाप्त भएको बताएका छन्।
‘नेपाली कांग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको वार्ता हामीलाई झुक्याउने, स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुस हामीले गरेका छौँ । आजदेखि नेपाली कांग्रेससँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणा समेत गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
चैत १९ मा कांग्रेसले गरेको निर्णयलाई पनि जालझेलपूर्ण र आफूहरूलाई अपमान गर्ने खालको दस्ताबेज रहेको ठहर गरेको वक्तव्यमा उल्लेख गरे ।
यस्तै जोशी समूहले तनहुँ–१ को उपनिर्वाचनमा आफ्ना कार्यकर्तालाई स्वतन्त्र भएर मताधिकार प्रयोग गर्न आग्रह गरेको छ । जोशीले तनहुँका मतदाताहरू कसलाई मतदान गर्ने भन्ने विषयमा आफ्नो मताधिकार प्रयोग गर्न सक्षम रहेको बताए । ‘उप–निर्वाचनमा हाम्रो आधिकारिक उम्मेदवार नभएता पनि प्रजातन्त्रमा विश्वास गर्ने व्यक्तिले मतदान नगर्नु स्वाभाविक नभएको हुनाले तनहुँका मतदाताहरू कसलाई मतदान गर्ने भन्ने विषयमा आफ्नो मताधिकार प्रयोग गर्न सक्षम हुनुहुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
२१औ शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने सक्षम , बौद्धिक र तनहुँको प्रतिष्ठालाई राष्ट्रिय राजनीतिमा कायम राख्न सक्ने योग्य उम्मेदवारको छनोट गरी आफ्नो मताधिकार प्रयोग गर्न तनहुँ – १ का मतदाताहरूलाई जोशीको अनुरोध छ ।