एउटै परीक्षा केन्द्रबाट एसईईका ५२ नक्कली परीक्षार्थी पक्राउ

केन्द्रभाग मिडिया

एउटै परीक्षा केन्द्रबाट एसईईका परीक्षा दिन गएका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

मोरङको ग्रामथान स्थित सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट एसईईका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

विहीबार बिहान जिल्लाको ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिदै गरेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेको मोरङका डिएसपी रन्जन कुमार दाहालले जानकारी दिएका छन्।

‘नक्कली परीक्षार्थी भेटिएपछि अहिले घटनाको अनुसन्धान भइरहेको छ,’ डिएसपी दाहालले भने,‘घटनास्थलमा प्रहरी र शिक्षा विकास समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमको टोली पुगेको छ।’

नक्कली परीक्षार्थी खुल्लातर्फका परीक्षा दिने रहेका परीक्षा केन्द्रका अध्यक्ष तथा सरस्वती नमुना माविका प्रधानध्यापक अशोक लुईटेलले बताए।

‘प्रवेशपत्रको फोटोमा शंका लागेपछि परीक्षार्थीको जन्म मिति सोधेको थिए। भन्न नसकेपछि केरकार गर्दा नक्कली रहेको थाहा भयो,’ परीक्षा केन्द्र अध्यक्ष लुईटेलले भने।

सरस्वती स्कुलमा ११ वटा कोठमा परीक्षा भइरहेको छ। ११ मध्ये ७ वटा कोठाबाट ५२ जना नक्कली परीक्षार्थी भेटिएको हो।

  • २३ चैत्र २०७९, बिहीबार ११:१३ प्रकाशित