सप्तरी ।
प्रहरीले नेतालाई कुटेको भन्दै जनकपुरको राजविराजमा जनता समाजवादी पार्टीका कार्यकर्ताले प्रर्दशन गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई एक प्रहरी निरीक्षकले टाउकोमा चोट लाग्ने गरी हातपात गरेको आरोपमा जसपाका नेता कार्यकर्ताहरूले राजविराजमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका कारण अहिले राजविराजको अवस्था तनाबग्रस्त बनेको छ । छलफलका क्रममा प्रहरी कार्यालय गएका अध्यक्ष यादवलाई प्रहरीले हातपात गर्दै कुटपीट गरी टाउको फुटाएको भन्दै जसपाका कार्यकर्ताहरु विरोधमा उत्रिएका छन् । जसपाका कार्यकर्ताहरु जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
यादवमाथि कुटपिटको घटनाबारे प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले छलफलको क्रममा चर्काचर्की भई प्रहरी निरीक्षकले जसपा जिल्ला अध्यक्ष केदार यादवमाथि हातपात गरेको सूचना आफूले पाएको बताए । साथै यसबारे थप अनुसन्धान गरी दोषीमाथि कारबाही गरिने थापाले बताए ।