तेस्रो पर्वतीय दौडको उपाधि नरेन्द्रसिंह रावतलाई

केन्द्रभाग मिडिया

पोखरा ।
सुदूरपश्चिमका धावक नरेन्द्रसिंह रावतले तेस्रो पर्वतीय दौड प्रतियोगिताको उपाधि जितेका छन् । पोखरा महानगरपालिका–२२, पुम्दी–भुम्दीमा शनिबार आयोजित प्रतियोगितामा निर्धारित आठ किलोमिटर दूरी ३४ मिनेट ३५.८८ सेकेन्डमा पूरा गर्दै रावतले उपाधि जितेका हुन् । उनले नगद ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । रावतले गत वर्ष पनि प्रतियोगिताको उपाधि जितेका थिए ।

प्रतियोगितामा गौतम श्रेष्ठ दोस्रो र निरज भट्ट क्षेत्री तेस्रो भए । श्रेष्ठले ३५ मिनेट १६.१९ सेकेन्ड तथा क्षेत्रीले ३५ मिनेट २९.०१ सेकेन्डमा दूरी पूरा गरे। उनीहरूले क्रमशः ३० हजार र १५ हजार रुपैयाँ प्राप्त गरे। धीरजबहादुर बुढा चौथो र सरोज कुँवर पाँचौँ भए । महिलातर्फ दीर्पा बस्नेत प्रथम भइन् । उनले आठ किलोमिटर दूरी ४८ मिनेट १३.४६ सेकेन्डमा पूरा गर्दै १५ हजार रुपैयाँ प्राप्त गरिन् । दोरपता कठायत दोस्रो र मीनु बुढा तेस्रो भए ।

यू–१६ विधामा कमल विक प्रथम, मुलुकसिंह खत्री दोस्रो र सक्षम बोहोरा तेस्रो भए । पोखरा–२२ का स्थानीय धावकतर्फ क्रिशल परियार प्रथम, सुयन विक दोस्रो र कमल पौडेल तेस्रो बने। भेट्रान्सतर्फ तेजबहादुर गुरुङ पहिलो, किशोर थापा दोस्रो र कमल गुरुङ तेस्रो भए । विदेशी धावकतर्फ फ्रान्सका माथियस डियोन प्रथम, रूसका अलेक्जेन्डर दोस्रो र माइखाइलो तेस्रो भए। खुला विधाबाहेक अन्य विधाका शीर्ष तीन विजेताले क्रमशः १५ हजार, १० हजार र सात हजार रुपैयाँ प्राप्त गरे ।

विश्व पर्यटन दिवसको सन्दर्भमा पोखरा प्रवर्द्धन केन्द्र र पोखरा क्लिकले आयोजना गरेको दौड विश्व शान्ति स्तूपबाट सुरु भई विशाल महादेवको मूर्ति र वडा कार्यालय हुँदै बुद्ध पार्कमा पुगेर सम्पन्न भएको थियो । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशकी सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले गरेकी थिइन् ।

समापन समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खेलकुद र पर्यटनको विकासमा यस्ता प्रतियोगिताले महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए । उनले प्रतियोगितालाई कम्तीमा पाँच वर्षसम्म नियमित वार्षिक कार्यक्रमका रूपमा सञ्चालन गर्न सुझाव दिए । कार्यक्रममा पुम्दी–भुम्दीको पर्यटन प्रवर्द्धन र स्थानीय विकासमा योगदान पुर्‍याएका राज गुरुङ ‘लाला’ तथा म्याराथन धावक अर्जुन गोदारलाई सम्मान गरिएको थियो ।

प्रतियोगिता संयोजक दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा आयोजक संस्थाका उपाध्यक्ष असफल गौतमले स्वागत तथा पर्यटनविज्ञ दीपेन्द्र पहारीले सञ्चालन गरेका थिए । ‘खेल पर्यटन प्रवर्द्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नारासहित आयोजित प्रतियोगितामा नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्द्धन तथा प्रदेश खेलकुद परिषद् गण्डकी र पोखरा–२२ को सहकार्य  थियो ।

  • २५ आश्विन २०८३, आईतवार ०७:४२ प्रकाशित