कुष्ठरोग उन्मुलन सम्भव छ

केन्द्रभाग मिडिया

 

परिचयः
“कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं” भन्ने मुल नाराका साथ ७० औं विश्व कुष्ठरोग दीवस २०७९ माघ १५ गतेका दिन मनार्इंदै छ। कुष्ठरोग माइक्रो ब्याक्टेरियम लेप्रसी (Mycobacterium leprosy) नामको सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको सरुवा रोग हो । यो रोगका किटाणुले खास गरेर छाला र स्नायुमा असर गर्दछ ।

यो रोग प्राचिन काल देखिनै हाम्रो समाजमा परिचित हुंदै आएको हामी सवैमा बिदितै छ । सन् १८७३ मा नर्वेका बैज्ञानिक डा. जि.ए हेन्सनले यस रोगको किटाणु पत्ता लगाएका थिए त्यसैले यो रोग लाई हेन्सन डिजिज (Henson’s Disease)पनि भनिन्छ । सरुवा भएता पनि यो कम कम सर्ने खालको सरुवा रोग हो ।

उपचार नगरेको कुष्ठरोगका विरामीसंग लामो समय, हप्तामा २० घण्टा भन्दा बढि समय सम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वास प्रश्वासको माध्यामबाट यो रोग सर्न सक्दछ । कुष्ठरोग वंषाणुगत रोग होइन। मानिसको शरिरमा कुष्ठरोगको किटाणुको प्रबेश गरेपछि प्रतिरोधात्मक क्षमता कमजोर भएका ब्यक्तिहरुमा साधा्णतया २ देखि ५ बर्ष भित्रमा रोगको चिन्ह र लक्षण देखा पर्न सक्दछ । यो रोग कुष्ठरोग लागेर उपचार नलिएका ब्यक्तिहरबाट अर्को ब्यक्तिमा सर्ने गर्दछ । कुष्ठरोगको उपचार लिन शुरु गरेका बिरामीहरुबाट अर्को ब्यक्तिमा सर्देन ।

हाम्रो समाजमा कुष्ठरोग प्रतिको पुरानो धारणामा अझै पुर्णरुपमा परिवर्तन आइ सकेको छैन। अझै पनि कुष्ठरोगलाई महारोग, उपचार हुन नसक्ने र अत्यन्त छिटो सर्ने प्रकृतिको संक्रामक रोगको रुपमा लिने गरिन्छ। यसै कारण कुष्ठरोगी वा औषधि पश्चात रोगवाट मुक्त भइसकेका व्यक्तिहरु प्रति पनि अत्यन्त ठूलो सामाजिक लान्छना र भेदभाव व्याप्त छ। अझै पनि कतिपय व्यक्तिहरु रोगको शंका लागि सकेपछि नजिकैको स्वास्थ्य संस्थावाट औषधि उपचार खोज्ने भन्दा छर छिमेक र समुदायका व्यक्तिहरुले थाहा नपाउन भनि अन्यत्रैवाट औषधि उपचार गर्न प्रयास गर्छन्। जसले गर्दा रोग लुकाउने, उपचार ढिला हुने, अन्य व्यक्तिलाई सर्ने र अंग भंग समेत हुने जोखिम ज्यादा हुन्छ। त्यसैले सवै भन्दा पहिले कुष्ठरोग अत्यन्त कम सर्ने र अन्य रोगहरु जस्तै सजिलै उपचार हुन सक्ने रोग हो भन्ने कुरा सवैले वुझ्नु र सोहि अनुसार उपचारको खोजि गर्नु अत्यन्त आवश्यक छ।

निम्नानुसारको चिन्ह र लक्षण भेटिएमा कुष्टरोग हो कि भनि शंका गर्न सकिन्छ ।

१.छालाको रङ भन्दा हल्का र सतह भन्दा माथि उठेका राता दागहरु देखिएमा
२ंछालामा देखिएका दागमा चेतना शक्ति हराएको वा कम हुदैं गएको अस्थामा
३.हाल ÷गोडा झमझमाउने भएमा
४.हाल,गोडा र आँखाको ढकनीहरु कमजोर हुदैँ जाने, स्नायुको दुखाईको समस्या भएमा
५. अनुहार र कानको लोती बाक्लो हुने, छालाहरु सुन्निएमा
६.नदुख्ने घाँउ अथवा हात र गोडामा पोलेको घाँउ भएमा

माथि भनिए जस्तै कुष्ठरोग कम सर्ने प्रकृतिको रोग हो। अधिकांश मानिसहरुमा उनीहरुको रोग विरुद्ध लड्न सक्ने क्षमताका कारण यो रोग सर्दैन भने उपचार नगरेको कुष्ठरोग बिरामीसंग लामो समयसम्म सम्पर्कमा आउने ब्यक्तिलाई श्वास प्रश्वासको माध्यमबाट यो रोग सर्न सक्छ । यो रोग किरा, लामखुट्टे, झिंगा, उडुस आदिबाट सर्ने रोग होइन ।

उपचारको दृष्टिकोणले कुष्ठरोगलाई दुई प्रकारमा विभाजन गरिएको छ ।
– पाउसी ब्यासीलरी (Pauci Bacillary) (PB) कम किटाणु भएको
-मल्टी ब्यासीलरी (Multi Bacillary) (MB) धेरै किटाणु भएको
कुष्ठरोगो उपचार बहु–औषधी उपचार विधि (Multi-Drug Therapy) बाट गरिन्छ । बहु–औषधी उपचार विधि भनेको एक भन्दा बढी प्रकारका औषधीबाट कुष्ठरोगको उपचार गर्नु हो। यस पद्धतिमा तीनवटा औषधी संयुक्त रुपमा खुवाइन्छ । यस औषधीको सेवनले किटाणुलाई नष्ट गरी रोग निको पार्छ । सुरुको अवस्थामा नै उपचार गरेमा अपांगता-असमर्थता हुदैंन।

कुष्ठरोगको कम किटाणु भएको (PB) विरामीले ६ पत्ता अर्थात ६ महिनासम्म खानु पर्छ र कुष्ठरोगको धेरै किटाणु भएको (MB) विरामीले १२ पत्ता अर्थात १२ महिनासम्म औषधी खानु पर्छ । विशेषज्ञ डाक्टरको सल्लाह अनुसार थप गरी २ वर्षसम्म पनि औषधी खानु पर्ने हुन सक्छ । कुष्ठरोग लागेको विरामीलाई कुनै विशेष क्लिनिक वा अस्पतालमा उपचार गर्नु पर्छ भन्ने हुंदैन । आफ्नै घरमा बसेर कुष्ठरोगको बहु–औषधी उपचार विधिबाट उपचार गर्न सकिन्छ। बहु–औषधी उपचार विधि शुरु गर्ने वित्तिकै ९९ प्रतिशत भन्दा बढि किटाणुहरु निष्क्रिय हुन्छन्। त्यस कारण कुष्ठरोग लागेर उपचार शुरु गरेको विरामीसँग एउटै घर-कोठामा बस्न सकिन्छ।
वर्तमान अवस्था

विश्व स्वास्थ्य संगठनको सन २०१९ को तथ्यांक अनुसार विश्वमा जम्मा २०२,२५६ नयां कुष्ठरोगिहरुको पत्ता लागेका थिए। सन् २०२० मा विश्वका १३९ देशवाट उपलव्ध तथ्यांक अनुसार जम्मा १२७,५५८ नयां कुष्ठरोका विरामीहरु पत्ता लागेका थिए। विश्वमै सवैभन्दा धेरै कुष्ठरोगीहरु भारतमा रहेका छन्।

नेपालमा सन २०१० (२०६६ माघ ५) मा कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो प्रति १०,००० जनसंख्यामा १ जना भन्दा कम रोगि भएको अवस्थालाई रोग निवारण भएको मानिन्छ। नेपालमा निवारण भएको घोषणा गरेको अवस्थामा प्रति १०,००० जनसंख्यामा ०.८९ कुष्ठरोगि थिए र २०७३।०७४ मा वढेर ०.९२ पुगेको थियो । हाल सो संख्या प्रति दशहजारमा ०.८१ रहेको छ। निवारण घोषणा गर्दाको अवस्थामा तराईका १२ जिल्लाहरुमा निवारणको लक्ष्य पुरा भएको थिएन भने हाल निवारण लक्ष्य पुरा नभएको जिल्लाहरुको संख्या १६ पुगेकोछ ।
स्वास्थ्य सेवा विभाग, कुष्ठरोग निवारण तथा अपांगता व्यवस्थापन शाखाका अनुसार आ.व. २०७८।८९ मा नेपालमा जम्मा २२८५ नयां विरामी पत्ता लागेको थिए। जस मध्ये ९८९ (४३ प्रतिशत) महिला थिए।

क्षेत्रगत रुपमा हेर्दा सवै भन्दा धेरै प्रकोप प्रदेश नं २ मा देखिन्छ जहां कुल संख्याको ४० प्रतिशत (९१०) विरामीहरु रहेको छन् र दोश्रोमा लुम्विनी प्रदेश रहेको छ जहां २५ प्रतिशत (५१८) विरामीहरु रहेका छन्। तेश्रोमा प्रदेश १ जहां १५ प्रतिशत (३४५) विरामीहरु छन् र सवैभन्दा कम कर्णाली प्रदेशमा ३ प्रतिशत (६८) रहेको छ। निवारण घोषणा भैसके पछिका धेरै वर्ष सम्म प्रतिवर्ष ३,००० को हाराहारीमा नयां रोगिहरु थपिने गरेको थियो जुन २०७६।०७७ मा १८५३ जनामा झरेको थियो। कोभिड १९ को महामारीले स्वास्थ्य क्षेत्रमा पारेको असरका कारण हालैका वर्षहरुमा नयां विरामी पत्ता लगाउने क्रममा आएको कठिनाइका कारण पनि नयां विरामीको संख्या काम भएको हुन सक्ने अनुमान गरिएको छ।

माथिको तथ्यांकलाई हेर्दा नेपालमा कुष्ठरोग निवारण भयो भनेर ढुक्क संग वस्ने अवस्था छैन। निवारण घोषणा भएको यतिका वर्ष भै सक्दा पनि १६ जिल्लाहरुमा निवारणको अवस्था नहुनु र प्रतिवर्ष उल्लेख्य संख्यामा नयां विरामी थपिनुका साथै स्वास्थ्य सेवाको पहुंच भन्दा वाहिरै रहेको जनसंख्या पनि उल्लेख्य छ। कुष्ठरोग प्रतिको नकारात्मक सोच र सहि जानकारीको अभावले रोग लुकाउने र समयमै उपचारको खोजि नगर्ने प्रवृतिले गर्दा कुनै समयमा यसको प्रकोप भयावह रुपमा देखिा सक्ने संभशावना टरि सकेको छैन भन्दा अतिशयोक्ति नहोला।

अर्को तर्फ निवारण घोषणा पछिको अवस्थामा विश्व स्वास्थ्य संगठन लगायत कतिपय दातृ संस्थाहरुले कुष्ठरोगको उपचार र पुनस्र्थापनको लागि सहयोग गर्न कम वा वन्द गरि सकेका छन्। कालान्तरमा यसको प्रत्यक्ष प्रभाव सेवाग्राहिहरुमा पर्ने प्रष्टै छ। तसर्थ कुष्ठरोगको रोकथाम, उपचार र व्यवस्थापनाका लागि प्रभावकारी उपायहरु अवलम्वन गर्न अत्यन्त आवश्यक भैसकेको छ।

नेपाल कुष्ठरोग निवारण संघ पोखराको प्रयास
नेपाल कुष्ठरोग निवारण संघ सन् १९६९ (२०२६) सालमा कुष्ठरोगको उपचार र पुनस्थापना गर्ने उद्देश्यले स्थापना भएको सामाजिक संस्था हो। स्थापना काल देखि नै यो संस्थाले नेपालमा कुष्ठरोग निवारणमा महत्वपूर्ण योगदान गर्दै आएको छ। रोगको उपचार मात्र नभई यो रोगको वारेमा समाजमा रहेको नकारात्मक सोच हटाउन, कुष्ठ प्रभावित व्यक्ति र परिवारको शिक्षा तथा जीविकोपार्जनमा समेत संस्थाले काम गर्दै आएको छ।

नेपाल कुष्ठरोग निवारण संघ पोखारा शाखाले पोखरा महानगरालिका वडा नं १५ टुटुंगामा वेसहारा, काम गर्न नसक्ने र अंग भंग भएका कुष्ठ प्रभावित व्यक्तिहरुका लागि पोखरा आरोग्य आश्रम संचालन गरेको छ। हाल सो आश्रमममा १२जना कुष्ठ प्रभावित व्यक्तिहरु रहेका छन। संस्थाको भौतिक क्षमता सो भन्दा धेरै व्यक्तिहरु रहन सक्ने भएता पनि दातृ संस्था का साथै नेपाल सरकारले उपलव्ध गराउंदै आएको आर्थिक सहयोगमा उल्लेख्य मात्रामा कटौति भएका कारण आश्रम पूर्ण क्षमतामा संचालन गर्न कठिनाई भएको छ। जसका कारण सेवाग्राहिहरु मर्कामा परेका छन्।

कुष्ठरोग मुक्त नेपाल वनाउन अगाडिको वाटो
जनचेतना जगाउने र रोग सर्न नदिनेः कुष्ठरोगको वारेमा समाजमा अझै पनि अन्धविश्वास व्याप्त छ। मनिसहरु स्वास्थ्य संस्थावाट औषधि उपचार खोज्ने भन्दा पनि धामी झंक्रीकहां धाउने गर्छन्। जस्ले गर्दा उपचार ढिलो हुन्छ। रोगको वारेमा सहि जानकारी गराउने, रोग नलुकाउने र शंका लागेमा नजिककको स्वास्थ्य संस्थामा उपचारका लागि सम्पर्क गर्ने र नियमित औषधि सेवन गर्ने वानीको विकास गर्नु आवश्यक छ। समुदायमा पनि व्यापक जनचेतना जगाई कुष्ठरोगिलाई सामान्य व्यक्ति सरह व्यवहार गर्ने, भेदभाव नगर्ने र परिवारमा आवश्यक माया ममता र सहयोगको वातारण हुनु आवश्यक छ।

रोगको समयमै पहिचान र उपचार तथा रोकथामः समाजका सवै सरोकारवालाहरु, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, धामीझांक्री र परम्परागत उपचार मा संलग्न व्यक्तिहरु, सामुदायिक समुहहरु सवैमा कुष्ठरोगका वारेमा सत्य तथ्य जानकारी र सकारात्मक सोच भएमा रोगको समयमै पहिचान गर्न सहज हुन्छ। समयमै रोगको पहिचान र उपचार भएमा कुष्ठरोगका कारण अंग भंग हुन पाउंदैन। यस्तो भएमा मात्र कुष्ठरोगको निदान र निवारणमा सहयोग पुग्छ।

विश्वमा ४५ वटा देशहरु कुष्ठरोग मुक्त भैसकेका छन् ती देशहरुमा नयां कुष्ठरमेगीशरु पाईंदैनन्। १४ वटा देशहरु कुष्ठरोगका नयां विरामी शुन्य वनाउने वाटोमा छन् त ती देशहरुमा गत ५ वर्षमा कुनै पनि कुष्ठरोगका वालवालिकाहरु पत्ता लागेका छैनन्। २४ भन्दा धेरै देशहरुले कुष्ठरोगको रोकथामका लागि एसडीआर–पीइपी (SDR-PEP) कार्यक्रम संचालन गरेका छन्। यसले विरामीको नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुमा कुष्ठरोग सर्ने संभावनालाई ९९ प्रतिशत सम्म घटाउंछ।

मथिका तथ्यांकहरुले कुष्ठरोगको प्रभावकारी उपचार उपलव्ध छ र यसलाई रोकथाम गरी उन्मुलन समेत गर्न सकिन्छ भन्ने आशा जगाएको छ। तर यसका लागि वलियो राजनैतिक पैतिवद्धता, आवश्यक श्रोत र साधानहरुको उपलव्धता, आवश्यक अनुसन्धान, समयमै पहिचान र रोग सर्नवाट हस्तक्षेप आदि कार्यक्रहरु प्रभावकारी रुपमा संचालन गरिनु पर्दछ।

समावेशीकरणः कुष्ठरोग लागि अपांगता भएका वा नभएका व्यक्तिहरुको समाजमा प्रभावकारी समावेशीकरणद्धारा उनीहरुलाई अघि वढ्ने मौका र प्रोत्साहनको खांचो छ। धेरै कुष्ठ प्रभावित व्यक्तिहरु जो रोगवाट मुक्त भई सामान्य जीवन व्यतित गरि रहेका छन् उनीहरु अझै समाजमा हुने भेदभावका कारण खुल्न सकेको अवस्था छैन। त्यसैले नीतिगत रुपमै कुष्ठ प्रभावित व्यक्तिहरु विरुद्धको भृदभाव अन्त्य गरी उनीहरुलाई प्रभावकारी रुपमा सामाजिक क्रियाकलापहरुमा समावेश गराएमा कुष्ठरोग प्रतिको नकारात्मक सोचमा परिवर्तन आई कुष्ठरोगको निदान, उपचार र निवारणमा सहयोग पुग्छ।

नेपालको सन्दर्भमा कुष्ठरोग निवारण घोषणा भएको १० वर्ष सम्म पनि १६ जिल्लामा अझै निवारण लक्ष्य प्राप्त नभएको र नयां विरामीहरुको संख्या उल्लेख्य रहेकाले यसको उपचार नियमित स्वास्थ सेवा अन्तर्गत समावेश गरिनुको अलावा सवै सामाजिक स्वास्थ्य तथा विकासका क्रियाकलापहरुमा कुष्ठरोगको सवाललाई समावेश गरिनुका साथै प्रभावकारी अनुगमनको खांचोछ।

निवारण पछिको अवस्थामा वढ्दै गएको विरामिको संख्या, औषधि उपचारद्धारा रोग मुक्त भएका तर रोग वल्झन सक्ने जोखिममा भएका व्यक्तिहरुको उपचार र अंग भंग भई पुनस्र्थापनाको आवश्यकतामा रहेका व्यक्तिहरु र अर्को तर्फ घट्दै गएको श्रोत र जनशक्ति आदिलाई विचार गर्दा स्वास्थ्य, विकास र पुनस्र्थापनाका सवै क्षेत्रमा कुष्ठरोग र प्रभावित व्यक्तिहरुको प्रभावकारी समावेशीकरणद्धारा मात्र समस्याको समाधान गर्न सकिन्छ। अन्यथा हाल १६ जिल्लामात्र अधिक प्रभावित भएता पनि समस्या वृद्धि हुंदै जाने यथार्थलाई नकार्न सकिन्न।

प्रकाशराज वाग्ले
सदस्य, नेपाल कुष्ठरोग निवारण संघ, कास्की शाखा

सन्दर्भ सामग्रीहरु
१. स्वास्थ्य सेवा विभाग, कुष्ठरोग निवारण तथा अपांगता व्यस्थापन शाखावाट उपलव्ध जानकारीहरु

२.https://www.who.int/news-room/factsheets/detail/leprosy

  • १६ माघ २०७९, सोमबार ११:४० प्रकाशित