अब एमालेकै पहल र नेतृत्वमा सरकार बन्नुपर्छ : उपमहासचिव गुरुङ

केन्द्रभाग मिडिया

काठमाडौं ।

एमाले उपमहासचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले अब एमालेकै पहल र नेतृत्वमा सरकार बन्नुपर्ने दाबी गरेका छन् ।

लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिन प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले यस्तो दाबी गरेका हुन् ।

उनले भने, ‘नेकपा एमालेको नेतृत्वमा अवको सरकार बन्नु पर्छ । यो एमालेको पहलमा अवको सरकार बन्नु पर्छ । अवको पावर सेयरिङमा एमालेको महत्त्वपूर्ण भूमिका हुनुपर्छ । त्यो काममा हामीले सफलता प्राप्त गर्नुपर्छ । त्यसलाई गम्भिरतापूर्वक ग्रहण गरेर हामी सात वटै प्रदेशमा सरकार बनाउन सक्छौं । संघीय सरकार पनि बनाउन सक्छौं हामी । त्यो लक्ष्य पूरा गर्नका लागि दिनरात नभनी हाम्रो पहलकदमी सुरु हुनुपर्छ । हाम्रो सक्रियता सुरु हुनुपर्छ । हाम्रो सुझबुझ, दूरदर्शिता त्यही प्रकट हुनुपर्छ । हाम्रो योग्यता, क्षमता त्यही प्रकट हुनुपर्छ । त्यो पहलकदमी गरेर सार्थक निष्कर्षमा पुर्‍याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने काममा लाग्नुपर्ने बताएका छन् । सत्तारुढ गठबन्धनलाई तोडेर वामपन्थी शक्तिलाई एकजुट बनाउँदै एमालेले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्ने उनको भनाइ छ ।

  • १६ मंसिर २०७९, शुक्रबार १६:४५ प्रकाशित