पोखरा ।
अबिरल बर्षाको कारण गोरखाको चुमनुब्री गाउँपालिका–६ खारामा पहिरो जादाँ एक बच्चा सहित तीन जना घाइते भएका छन् । पहिलोले तीन घरमा क्षति पुगेको छ । बिहिबार बिहान साढे सात बजेको समयमा पहिरोमा परि एक घर पूर्ण रुपमा क्षति भएको र दुइ घर पनि बस्न मिल्ने अवस्थामा नरहेको जिल्ला प्रशासन कार्यालय गोरखाले जानकारी दिएको छ ।
खराब मौसमका कारण उक्त क्षेत्रमा अझै प्रहरी पुग्न नसकेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिए । पहिरोमा परि घाइते भएका ५ वर्षको बच्चा पेम्बा छिरिङको अवस्था गम्भीर छ भने आमा छेतेन लामा र तेन्जिङ डोमा लामा घाइते भएका छन् ।
अहिलेसम्म उक्त स्थानमा प्रहरी पुग्न सकेको छैन । छेकमपार प्रहरी चौकीबाट आज बिहान प्रहरी हिडे पनि घटनास्थलमा पुग्न सकेको छैन । पहिरोको कारण सडक यातायात तत्काल संचालन गर्न नसक्ने अवस्थाका कारण हेलिकप्टरबाट घाइतेको उद्धार गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय गोराका प्रहरी नायब उपरिक्षक लिलाराज लामिछानेले बताए ।
सेनाको हेलिकप्टर उडे पनि खराब मौसमाका कारण अवतरण हुन नसकेको चुमनुब्री गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले बताईन् । दुइजनाको अवस्था सामान्य रहे पनि बच्चका अवस्था भने गम्भिर रहेको उनले जानकारी दिइन् ।
बर्षातको कारण लोक्वा भन्ने स्थानमा पनि ठुलो पहिलो गएको गुरुङले जनकारी दिइन् । यस्तै मनास्लु हिमाल तर्फ गएका दुइ जना इजरायली पनि बेस क्याम्पमा फसेका छन् । मनास्लु हिमालको बेसक्याम्प एक र बेसक्याम्प दुइकोबीचमा ती पर्यटक फसेको जिल्ला प्रशासन कार्यालय गोराले जनाएको छ ।
उनीहरुको उद्धारका लागि हेलिकप्टर तयार अवस्थामा राखिए पनि मौसमाका कारण सम्भव नभएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिए ।













