सरुवा रोग अस्पतालका पदमुक्त पदाधिकारीको रिट पेशीमा चढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश सरकारले पदमुक्त गरेका संक्रामक तथा सरुवा रोग व्यवस्थापन तथा संचालक समितिका पदाधिकारी र सदस्यले हिजो साँझ अबेर रिट दायर गरेका छन् ।

अस्पताल व्यवस्थापन तथा संचालक समिति गठन आदेश २०७७ विपरित सरकारले खारेजी गरेको भन्दै समितिका पदाधिकारी र सदस्य उच्च अदालत पोखरामा पुगी रिट दायर गरेको समितिका अध्यक्ष प्राध्यापक डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

आफुहरुले दायर गरेको रिट आज (मंगलबार) पेशीमा चढेको पौडेलले केन्द्रखबरसँग बताए ।

गएको चैत्र २४ गतेको मन्त्रिपरिषद् बैठकले समितिका अध्यक्ष प्रध्यापक डाक्टर कृष्ण प्रसाद पौडेल सहित तीन सदस्य स्वास्थ्य विज्ञ डा। ध्रुवबहादुर अधिकारी, स्थानीयको तर्फबाट मेजर रामप्रसाद गुरुङ र सूर्यकुमारी बञ्जरा पदमुक्त गरेको थियो ।

गठनादेश अनुसार समिति पदाधिकारीको कार्यकाल तीन वर्षको हुन्छ । तर, कार्यकाल नपुग्दै पदमुक्त गरेपछि अदालत जान बाध्य भएको पौडेलले बताए ।

स्वास्थ्यजस्तो क्षेत्रमा राजनीतिक चलखेल भएको पौडेलको आरोप छ ।प्रदेश सरकारको मन्त्रिपरिषदको चैत १८ गतेको बैठकले अस्पतालका अध्यक्ष पौडेलसहित तीन सदस्यलाई सफाई पेस गर्ने मौका दिने निर्णय गरेको थियो ।

अध्यक्ष सहितका चारै जनाले गएको चैत्र २३ गते सरकारलाई आफ्नो स्पष्टिकरण बुझाएका थिए । सरकारले जवाफ चित्त बुझ्दो नभएको भन्दै उनिहरुलाई बर्खास्त गरेको हो ।

  • ६ बैशाख २०७९, मंगलवार ०९:२० प्रकाशित