पोखरा विश्वविद्यालयमा तनाव व्यवस्थापन प्रशिक्षण

केन्द्रभाग मिडिया

पेखरा ।

पोखरा विश्वविद्यालयमा व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विश्वविद्यालयले रजतजयन्तीको अवसरमा सोमबार उक्त कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उपकुलपति प्राडा प्रेम नारायण अर्यालले मान्छेको प्राण, कमाएको धनसम्पत्ति र उसको भौतिक शरीरको कुनै ठेगान नभएको तर उसले कमाएको नाम र प्रतिष्ठा अमर रहने बताए । त्यसैले व्यक्तिगत चिन्ता र स्वार्थ छाडि सबै सत्कर्ममा लाग्नुपर्नेमा उनको जोड थियो ।

उनले विश्वविद्यालयको प्रतिष्ठा अभिवृद्धिका लागि सम्बन्धित सबैले अनावश्यक रिस, राग, द्वेश र घृणा छोड्नुपर्ने धारणा राखे । विश्वविद्यालय बनाउन सबै एकजुट हुनुपर्ने उल्लेख गर्दै उपकुलपतिले यसका लागि एकले अर्कालाई विश्वासमा लिई काम गर्नुपर्ने बताए ।

कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार डा. दिपक बहादुर भण्डारीले कम्प्यूटरमा हार्डवयर र सफ्टवयर भएजस्तै मान्छेको शरीररूपी हार्डवयरमा काम नलाग्ने विचारलाई हटाई नयाँ नयाँ सिर्जनात्मक एवम् सकारात्मक सोचहरूले मस्तिकलाई समयानूकुल रूपान्तरण गर्नुपर्ने बताए । विश्वविद्यालयमा सकारात्मक सोचको विकासका लागि यस किसिमका कार्यक्रम फलदायी हुने उनको विश्वास थियो ।

प्रशिक्षक डा. चिन्तामणि योगीले मानिस परिवार मोह, माया प्रेम, तेरो मेरो, धनसम्पत्ति, प्रतिष्ठा आर्जनमै जीवन बिताउने गरेकोले उसले आफैले आफूलाई चिन्न नसकेको तर्क गरे । उनले मानिस अरूको कारणले नभई आफ्नै कर्मले दुःखी र चिन्तित रहने गरेको उल्लेख गरे ।

कार्यक्रमका अर्का प्रशिक्षक स्वामी योगानन्दले मानिस तनावै तनावमा जीउने गरेको उल्लेख गर्दै दीर्घ जीवनका लागि मानिसले तनावलाई व्यवस्थापन गर्नु अपरिहार्य रहेको उल्लेख गरे । उनले योगा, भोजन शुद्धि, वाणि शुद्धि, परिवेश शुद्धि र सौचको सही प्रयोगले तनाव व्यवस्थापन गर्ने बताए । मनको शुद्धि, साधना, सत्संग, संस्कार जस्ता विधि र प्रयोगले मानिसलाई ज्ञानी र कृपालु बनाउने उनको भनाई थियो ।

कार्यक्रममा पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखा प्रमुख एवम् व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापन प्रशिक्षात्मक कार्यक्रम तयारी समितिका संयोजक दिपकराज पौडेल र डा. अर्जुनकुमार थापा लगायतले आ–फ्नो धारणा राखेका थिए । कार्यक्रममा विश्वविद्यालयका विभिन्न पदाधिकारी, शिक्षक, कर्मचारी लगायत २०० जनाको उपस्थिति रहेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।

 

  • ६ बैशाख २०७९, मंगलवार ०७:३६ प्रकाशित