गण्डकी सरकारले पदमुक्त गरेका सरुवा रोग अस्पतालका पदाधिकारी, सदस्य अदालत जाने

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश सरकारले पदमुक्त गरेका संक्रामक तथा सरुवा रोग व्यवस्थापन तथा संचालक समितिका पदाधिकारी र सदस्य अदालत जाने भएका छन् । अस्पताल व्यवस्थापन तथा संचालक समिति गठन आदेश २०७७ विपरित सरकारले खारेजी गरेको भन्दै समितिका पदाधिकारी र सदस्य अदालत जान लागेका हुन् ।

गएको चैत्र २४ गतेको मन्त्रिपरिषद् बैठकले समितिका अध्यक्ष प्रध्यापक डाक्टर कृष्ण प्रसाद पौडेल सहित तीन सदस्य स्वास्थ्य विज्ञ डा. ध्रुवबहादुर अधिकारी, स्थानीयको तर्फबाट मेजर रामप्रसाद गुरुङ र सूर्यकुमारी बञ्जरा पदमुक्त गरेको थियो ।

गठनादेश अनुसार समिति पदाधिकारीको कार्यकाल तीन वर्षको हुन्छ । तर, कार्यकाल नपुग्दै पदमुक्त गरेपछि अदालत जाने तयारीमा रहेको पौडेलले जानकारी दिए । सरकारको निर्णयविरुद्ध अदालत जाने तयारी भइरहेको र केही दिनमा मुद्धा दर्ता गर्ने उनले बताए ।
स्वास्थ्यजस्तो क्षेत्रमा पराजनीतिक चलखेल भएको पौडेलले आरोप लगाए ।

प्रदेश सरकारको मन्त्रिपरिषदको चैत १८ गतेको बैठकले अस्पतालका अध्यक्ष पौडेलसहित तीन सदस्यलाई सफाई पेस गर्ने मौका दिने निर्णय गरेको थियो । अध्यक्ष सहितका चारै जनाले गएको चैत्र २३ गते सरकारलाई आफ्नो स्पष्टिकरण बुझाएका थिए । सरकारले जवाफ चित्त बुझ्दो नभएको भन्दै उनिहरुलाई बर्खास्त गरेको हो ।

 

  • ५ बैशाख २०७९, सोमबार ०९:४५ प्रकाशित