प्युठानमा एक्लिदै एमाले , गठबन्धनलाई विप्लवको साथ

केन्द्रभाग मिडिया

बुटवल ।

प्युठानमा प्रमुख विपक्षी दल नेकपा एमाले एक्निले भएको छ। प्युठानको एक पालिकामा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सत्ता गठबन्धन दललाई साथ दिने भएपछि एमाले एक्लिने भएको हो ।

प्युठानको माण्डवी गाउँपालिकामा सत्ता गठबन्धन दलहरूसँग सहकार्य गरेर आगामी वैशाख ३० गते हुने निर्वाचनमा जाने निर्णय भएको सत्ता गठबन्धन दलसहित विप्लव नेतृत्वको पार्टीले शनिवार विज्ञप्ति जारी गरेको थियो ।

‘माण्डवी गाउँपालिकामा क्रियाशील राजनीतिक दलहरूको बैठक बसी वैशाख ३० गते हुने स्थानीय चुनावमा दलीय अस्तित्व स्वीकार गर्ने गरी गठबन्धनसहित एक ढिक्का भएर जाने कुरामा सहमतिका साथ प्रेस वक्तव्य जारी गरेका छौँ,’ विज्ञप्तिमा भनिएको थियो ।

विज्ञप्तिमा काँग्रेसका गाउँपालिका कार्यसमिति उपसभापति ऋषिराम अधिकारी, माओवादीका गाउँ कमिटी अध्यक्ष बलबहादुर खत्री, जनमोर्चाका अध्यक्ष शंकर आचार्य र नेकपाका इन्चार्ज हरि बस्नेतले हस्ताक्षर गरेका छन्।

इन्चार्ज बस्नेतले आफ्नो पार्टी निर्वाचनमा नगए पनि स्वतन्त्र रूपमा उम्मेदवार उठाउने नीति लिएको प्रतिक्रिया दिए। उनले माण्डवी गाउँपालिकामा सत्ता गठबन्धनसँग सहकार्य गरेर जान आफूहरू तयार भएको पनि बताए।

  • २९ चैत्र २०७८, मंगलवार १०:४७ प्रकाशित