उम्मेदवारको अन्तिम टुंगो लगाउँदै नेकपा एस : यस्ता छन् मापदण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।

हिजो र आज बसेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले उम्मेदवार टुंगो लगाउन समय तालिका निर्धारण गरेको छ ।
जसअनुसार समाजवादीले आगामी वैशाख ८ गतेभित्र स्थानीय तहमा उठ्ने उम्मेदवारको अन्तिम नामावली टुंगो लगाउने भएको छ ।

वडा कमिटीले यही चैत्र ३० गतेभित्र सिफारिस गरिसक्नुपर्ने छ भने पालिका कमिटीले आगामी वैशाख २ गतेभित्र निर्णय र सिफारिस गरिसक्ने, जिल्ला कमिटीले वैशाख ४ गतेभित्र निर्णय र सिफारिस गरिसक्नुपर्नेछ ।

यस्तै प्रदेश कमिटीले वैशाख ६ गतेभित्र निर्णय र सिफारिस गरिसक्ने तथा केन्द्रीय कमिटीले वैशाख ८ गतेभित्र निर्णय गरिसक्ने महासचिव बेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले उम्मेदवारको सम्बन्धमा ८ मापदण्ड निर्धारण समेत गरेको छ । जसमा पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, पार्टीमा योगदान गरेको र विद्रोहमा भूमिका खेलेको, पार्टीप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको, जनतामा स्थापित एवं लोकप्रिय, स्वच्छ छवि भएको र सुशासनको पक्षपाती, कार्यक्षमता राम्रो भएको हुनुपर्नेछ ।

  • २७ चैत्र २०७८, आईतवार १६:०२ प्रकाशित