एमालेको आरोप : गठबन्धन सरकारले अर्थतन्त्रमाथि खेलबाड गरिरहेछ

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गठबन्धन सरकारले अर्थतन्त्रमाथि खेलबाड गरिरहेको आरोप लगाएको छ।

उसले यो सरकार आए देखि नै सरकारी वित्त प्रणालीमा अनिश्चय र अन्योल शुरू भएको भन्दै यस्तो आरोप लगाएको हो। गठबन्धको सरकारले अर्थतन्त्र सुधार गर्न नसकेको भन्दै आफ्नो कमजोरी ढाक्न प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर गलत गरेको एमाले बताएको छ ।

एमालेले आइतबार पत्रकार सम्मेलन गर्दै मुलुकको आर्थिक अवस्था सार्वजनिक र गभर्नर हटाउने निर्णय भित्रको राजनीतिक खेलबारे टिप्पणी गरेको छ ।

यस्तै एमालेले कमिसनतन्त्र मौलाउँदा तरलता संकट बढ्दै गएको निष्कर्ष निकालेको छ। हुण्डी, तस्करी, घुसखोरी, राजस्व चुहावट र कमिसनतन्त्र मौलाउदै जाँदा अर्थतन्त्रबाट पैसा हराउँदै गएको पूर्व अर्थमन्त्रीहरुले बताएका हुन् ।

एमालेबाट अर्थमन्त्री भइसकेका सुरेन्द्र पाण्डे, बिष्णु पौडेल र डा। युवराज खतिवडाको संयुक्त बिज्ञप्तिमा व्यवसायीले आवश्यक सामानको पनि एलसी खोल्न नपाएको उल्लेख गर्दै चर्को व्याजदरमा समेत उत्पादनमा लगानीका लागि पूँजी प्राप्त नहुने अवस्था रहेको उल्लेख छ।

बैंकको चुक्ता पुँजी वृद्धिको असर पनि अहिले देखिँदै गएको उल्लेख गरिएको छ। बैंकहरूको चुक्ता पुँजीमा अकस्मात ४ गुणाले ठूलो वृद्धि गरिएपश्चात धेरै लगानी गर्न वैकहरू आक्रमक हुन थालेका र बजार ओगट्ने अस्वस्थ्य प्रतिस्पर्धाका कारण पूजीको लागत मूल्यमा भन्दा कम दरमा कर्जा प्रवाह हुन थालेकाले कर्जाको अस्वभाविक वृद्धि भएको एमालेको निष्कर्ष छ।

  • २७ चैत्र २०७८, आईतवार १५:१४ प्रकाशित