खतिवडाको आरोप : मन्त्रीहरू कमाउ धन्दामा लिप्त भए

केन्द्रभाग मिडिया

काठमाडौं ।
पूर्वअर्थमन्त्री युवराज खतिवडाले सरकारका मन्त्रीहरू अर्थतन्त्र जोगाउने भन्दा कमाउ धन्दामा लिप्त रहेको आरोप लगाएका छन्। एमालेले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आरोप लगाएका हुन्।

‘सरकारका मन्त्रीहरू कमाउन धन्दामा लिप्त हुने, ठेक्का–पट्टामा सेटिङमा सीमित हुने देखिएको छ’, उनले भने ‘आफूले गर्न नसकेपछि कर्मचारीमाथि जाइलाग्ने क्रम जारी नै छ। मन्त्रीहरू निर्वाचनका लागि स्रोत चाहियो भनेर खुल्लम खुल्ला पैसा माग गरिएका छन्।’

यही हर्कतका कारण अर्थतन्त्र यो अवस्थामा आएको उनको तर्क छ। नीजि क्षेत्रले व्यावसायिक समस्या राख्ने ठाउँ समेत नपाएको उनले दाबी गरे।

अर्थ मन्त्रालयले लिनुपर्ने केही पहल कदमी नलिएपछि राष्ट्र बैंकले ढिलै भएपनि लिएको तर गभर्नरमाथि कारबाही गरिएको उनले बताए।

‘मूल्य वृद्धि भएको छ। तेल, ढुवानीसहितका मूल्य बढेको छ। जसका कारण खाद्य लगायत सबैमा महंगी बढेको छ’ उनले भने ‘सरकारले लिएको गलत आर्थिक नीतिका कारण निर्माण सामग्रीको मूल्य बढेको छ। बजार अनुगमनमा सिन्को भाँचेको छैन।’

  • २७ चैत्र २०७८, आईतवार १४:४३ प्रकाशित