पोखराको मेयरमा एमालेबाट १६ जना आकांक्षी (यी हुन् आकांक्षी)

केन्द्रभाग मिडिया

पोखरा ।
आगामी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनमा पोखरा महानगर पालिकाको मेयरका लागि एमालेबाट १६ जना आकांक्षी देखिएका छन् । एमालेबाट प्रदेश सांसद देखि हाइड्रो उद्यमीसम्म मेयरका आकांक्षी देखिएका हुन ।

बहालवाला उपमेयर मञ्जुदेवी गुरुङ मेयरमा उठ्ने कार्यकर्ता बृत्तमै चर्चा छ । एमाले नेता कार्यकर्ताले चर्चा गरेजस्तो स्वयम उपमेयर गुरुङ आफैले भने पार्टीले निर्णय गर्ने प्रतिक्रिया दिन्छिन् । तत्कालिन पोखरा उपमहानगरका पूर्वमेयर एवं प्रदेश सांसद कृष्णबहादुर थापा एमालेको तर्फबाट अर्का दाबेदार हुन् । २०७४को स्थानीय तहको निर्वाचनमा पनि उनी आकांक्षी थिए । स्वभावीक रुपमा अवसर पाए काम गरेर देखाउने उनले बताउने गरेका छन् ।

एमालेका अर्का प्रदेश सांसद सांसद राजीव पहारी पनि मेयर पादका आकांक्षी हुन् । उनीपनि अघिल्लो निर्वाचनमा एमालेमा आकांक्षी थिए । प्रदेश सांसद हुँदा काम गर्ने कार्यकारी भूमिका नहुने भन्दै गुनासो गरेका उनले मेयर भए काम गरेर देखाउने बताउँदै आएका छन् ।

एमाले कास्की इन्चार्ज रहेका केन्द्रीय सदस्य भीम कार्की, एमाले प्रदेश कमिटी सदस्य मिना गुरुङ, प्रदेश कमिटी सदस्य देवका पहारी, पोखरा इन्जिनियरिङ अध्ययन संस्थानका पूर्व डिन एवं नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सचिव प्राडा भरत पहारी, व्यवसायी पुष्प अधिकारी, एमालेको पछिल्लो पुस्ताका नेता रस्मी आचार्य र दिलीप न्यौपाने समेत मेयरका आकांक्षी हुन् । आचार्य प्रदेश कमिटीका उपसचिव छन् भने न्यौपाने एमाले महागर कमिटीका अध्यक्ष छन् ।

पूर्व शिक्षकनेता एवं सविक नेकपा कालमा नेकपा नगर संयोजक रहेका दीपक पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइराला, वडा नम्बर १३का वडाध्यक्ष दर्शन लामा र वडा नम्बर १९का वडाध्यक्ष सोभामोहन पौडेल समेत एमालेबाट मेयरका आकांक्षी छन् । पौडेल प्रदेश कमिटी सदस्य हुन् । दर्शन लामा जिल्ला कमिटीका उपसचिव हुन् ।

जलविद्युत उद्यमी पुष्पज्योति ढुंगाना पनि मेयरका आकांक्षी हुन् । त्यसैगरी बालासिंह काउचा मगरले एमालेबाट मेयर उम्मेद्वार बन्ने आकांक्षा राखेका छन् ।

  • २६ चैत्र २०७८, शनिबार २२:०१ प्रकाशित