गण्डकी सरकारले संक्रामक तथा सरुवा रोग अस्पतालका अध्यक्षबाट प्राडा पौडेललाई हटायो

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश सरकार संक्रामक तथा सरुवा रोग अस्पतालका अध्यक्ष प्राडा कृष्णप्रसाद पौडेललाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले अस्पतालका अध्यक्ष पौडेलसहित चार पदाधिकारीलाई बर्खास्त गर्ने निर्णय शुक्रबार सार्वजनिक गरेको हो ।

उनीहरूलाई हटाउनकै लागि भनेर सरकारले १८ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

उक्त निर्णयानुसार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्राडा कृष्णप्रसाद पौडेल, स्वास्थ्य विज्ञ डा. ध्रुवबहादुर अधिकारी, स्थानीयको तर्फबाट मेजर रामप्रसाद गुरुङ र सूर्यकुमारी बञ्जरा पदमुक्त भएका छन् ।

यसैगरी बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका खेलकुद विकास समितिका पदाधिकारी र सदस्यहरुलाई समेत बर्खास्त गरेको छ ।

पदमुक्त पदाधिकारी अदालत जाने

गठनादेशअनुसार समिति पदाधिकारीको कार्यकाल तीन वर्षको हुन्छ । तर, कार्यकाल नपुग्दै पदमुक्त गरेपछि पदाधिकारी अदालत जाने भएका छन् ।

स्वास्थ्यजस्तो क्षेत्रमा पनि राजनीतिक चलखेल भएको प्राडा पौडेलले आरोप लगाए । स्पष्टीकरण बुझाए पनि आफूहरूको काम, प्रगति विवरणमा सरकारले चित्त नबुझाएको उनले बताए ।

  • २५ चैत्र २०७८, शुक्रबार १७:४१ प्रकाशित