आज छैटौँ स्वास्थ्य बीमा दिवस : झन्डै ५३ लाख नागरिक स्वास्थ्य बीमामा सहभागी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालमा स्वास्थ्य बीमा लागू भएको आज ६ वर्ष लागेको छ।

पाँच वर्षअघि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रममा अहिलेसम्म झन्डै ५३ लाख नागरिक सहभागी भएका छन् । ती बिमितमध्ये २० लाख ८९ हजारले बीमामार्फत स्वास्थ्य सेवा लिएका स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।

स्वास्थ्य बीमा कार्यक्रमबाट अहिलेसम्म १७ अर्ब रुपैयाँ स्वास्थ्य उपचारमा खर्च भएको छ । स्वास्थ्य बीमा बोर्डले १७ अर्ब रुपैयाँ भुक्तानी गरे पनि यो अवधिमा देशभरका चार सय ४१ अस्पतालले भने २४ अर्ब २५ करोड १८ लाख रुपैयाँको दाबी भुक्तानी माग पठाएका छन् ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा। दामोदर बसौलाका अनुसार अस्पतालले २४ अर्ब रुपैयाँको दाबी भुक्तानी माग गरे पनि बोर्डले कागजात मिलेका अस्पताललाई १७ अर्ब रुपैयाँ भुक्तान गरेको हो । ७ सय ५३ मध्ये अहिलेसम्म ७ सय ४५ पालिकामा स्वास्थ्य बीमा कार्यक्रम पुगेको छ ।

स्वास्थ्य बीमा कार्यक्रमबाट अति गरिब, विपन्न, जटिलखालका अपाङ्गता, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, जटिल क्षयरोगी, कुष्ठरोगी, एचआईभी सङ्क्रमित र महिला स्वास्थ्य स्वयंसेविकालाई बीमा कार्यक्रममा आबद्ध हुन तिर्नुपर्ने योगदान रकममा छुट गरी उनीहरुको परिवार सङ्ख्याका आधारमा वार्षिक एक लाखदेखि दुई लाख रुपैयाँसम्मको निःशुल्क सेवा प्रदान गर्ने व्यवस्था छ ।

अरु परिवारका लागि वार्षिक तीन हजार पाँच सय रुपैयाँ योगदान गरेको आधारमा उपचार सेवा उपलब्ध हुने व्यवस्था गरिएको छ । पाँच जनासम्मको परिवारको तीन हजार पाँच सय बुझाएपछि त्यस घरमा रहेका सदस्यले एक लाख रुपैयाँ बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क छ ।

पाँच जनाभन्दा बढी सदस्य भए प्रतिसदस्य थप सात सय बुझाउनुपर्छ । आज छैटौँ स्वास्थ्य बीमा दिवस मनाइँदैछ । ‘तपाईँको स्वास्थ्य हाम्रो अठोट’ नाराका साथ दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश व्यक्त गरेका छन् ।

उनले देश विकासको सूचक नागरिकको स्वास्थ्यसँग गाँसिएको भन्दै सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न लागिपरेको बताए ।

  • २५ चैत्र २०७८, शुक्रबार १०:३८ प्रकाशित