आजदेखि टाइफाइडबिरुद्धको खोप अभियान सुरु, गण्डकीमा ५६०२२७ बालबालिकालाई खोप लगाइने

केन्द्रभाग मिडिया

पोखरा ।

आज (शुक्रबार) देखि देशभरका बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप लगाउन शुरु गरिँदैछ । बहुवर्षिय खोप कार्ययोजना २०१७–२१ को लक्ष्य अनुरुप आजदेखि १८ बैशाखसम्म यो खोप कार्यक्रम जारी रहनेछ ।  अभियानमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाका खोप लगाइने छ । गण्डकी प्रदेशमा खोप अभियानको पोखराको अमरसिंह माविका विद्यार्थीलाई विहीबार नै खोप लगाएर शुभारम्भ गरिएको हो । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुभारम्भ गरे हुन् ।

गण्डकीमा खोप अभियान अन्तर्गत करीब २२ दिनमा ५ लाख ६० हजार २ सय २७ बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाइने प्रदेश स्वास्थ्य निर्देशक खिमबहादुर खड्काले जानकारी दिएका छन् । अभियान अन्तर्गत कास्कीमा एक लाख ४१ हजार ७ सय ७६ बालबालिकाहरुलाई खोप लगाइने जनाइएको छ । जस अन्तर्गत १५ महिनादेखि ४ वर्षसम्मका २१ हजार ३०२ जना र ४ वर्षदेखि १५ वर्ष उमेर समूहका ८९ हजार ४४९ जना बालबालिकालाई खोप लगाइनेछ ।

त्यस्तै, तनहुँमा १५ महिनादेखि ४ वर्ष सम्मका १३ हजार ६६३ र ४ वर्षदेखि १५ वर्षसम्मका ५९ हजार ४ सय ७९ गरी कुल ७३ हजार १४२, गोर्खामा १५ महिनादेखि ४ वर्षसम्मका १४ हजार २१५ र ४ वर्षदेखि १५ वर्षसम्मका ५४ हजार ६८५ गरी कुल ६८ हजार ९ सय, लमजुङमा १५ महिनादेखि ४ वर्षसम्मका ६ हजार ८६५ र ४ वर्षदेखि १५ वर्षसम्मका २९ हजार २४० गरी कुल ३६ हजार १०५ जना बालबालिकालाई खोप लगाइने जनाइएको छ ।

यसैगरी, स्याङ्जामा १५ महिनादेखि ४ वर्षसम्मका १२ हजार ३८५ र ४ वर्षदेखि १५ वर्षसम्मका ५१ हजार १४० गरी कुल ६३ हजार ५ सय २५, मनाङमा १५ महिनादेखि ४ वर्ष सम्मका ४६१ र ४ वर्षदेखि १५ वर्षसम्मका १ हजार ४८२ गरी कुल १ हजार ९ सय ४२, मुस्ताङमा १५ महिनादेखि ४ वर्ष सम्मका ९३८ र ४ वर्षदेखि १५ वर्षसम्मका ३ हजार १६८ गरी कुल ४ हजार १०६ बालबालिकालाई खोप लगाइने छ ।

म्याग्दीमा १५ महिनादेखि ४ वर्ष सम्मका ५ हजार ५१६ र ४ वर्षदेखि १५ वर्षसम्मका २३ हजार १९५ गरी कुल २८ हजार ७ सय ११ , पर्वतमा १५ महिनादेखि ४ वर्ष सम्मका ५ हजार ७२५ र ४ वर्षदेखि १५ वर्षसम्मका २५ हजार २१५ गरी कुल ३० हजार ९४०, बागलुङमा १६ हजार ६१४ र ४ वर्षदेखि १५ वर्ष उमेर समूहका ६४ हजार ७११ गरी कुल ८१ हजार ३२५ तथा नवलपुरमा १५ महिनादेखि ४ वर्ष सम्मका १६ हजार ३९९ र ४ वर्षदेखि १५ वर्ष उमेर समूहका ६४ हजार ३८० गरी कुल ८० हजार ७७९ जना बालबालिकालाई खोप लगाइने खोप अभियानका फोकल पर्सन विष्णु सुबेदीले जानकारी दिए ।

खोप साविकको गाविसको प्रत्येक वडामा रहेका विद्यालयहरुमा लगाउने व्यवस्था गरिएको प्रदेश स्वास्थ्य निर्देशक खिमबहादुर खड्काले जानकारी दिए । ‘प्रत्येक विद्यालय र वडा कार्यालयमा खोप लगाउने व्यवस्था गरेका छौं । आवश्यक परे स्वास्थ्य संस्थामापनि खोप लगाउने व्यवस्था गर्छौं’–उनले भने । खोप लगाउनका लागि आवश्यक मात्रामा स्वास्थ्यकर्मी र सहयोगी खटाइएको उनले बताए ।

टाइफाइड खोपको प्रभावकारीता ९६.९७ प्रतिशत रहेको दाबी गरिएको छ । यो खोप लगाउँदा खोप लगाएको ठाउँ रातो हुने, चिलाउने, सामान्य ज्वरो आउनलेलगायतका लक्षण देखिएपनि जटिल प्रकारको समस्या नआउने स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका स्वास्थ्य सामग्री आपूर्ति व्यवस्थापन विभागका निर्देशक डा.रोसन न्यौपानेले बताए । प्रति लाखमा एक जनालाई जटिलता हुनसक्ने भनिएकाले त्यस्ता अनपेक्षित घटना भइहालेमा तत्काल उपचार गर्नका लागि आकस्मिक औषधीकोसमेत व्यवस्था गरिएको उनको भनाई छ ।

  • २५ चैत्र २०७८, शुक्रबार ०७:३९ प्रकाशित