काठमाडौं।
उदयपुरमा एक स्कुले छात्राको हत्या भएको छ । उदयपुरको बेलका नगरपालिका ३ स्थित कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको यसोदा खोलामा हत्या भएको हो ।
उनी विद्यालय आउने क्रममा बाटोमै क्रुर र हिंस्रक ढंगले हत्या भएको विद्यालयका प्रधानाध्यापक सूर्य नारायण साहले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक साहले संयुक्त विज्ञप्ति प्रकाशित गरी घटनाको निष्पक्ष छानबिन गरी अपराधी पत्ता लगाउन र कडा सजायँ दिन माग गरेका छन् ।
बिहान ४ बजे नै घरबाट विद्यालय गएकी बालिकाको बिहान ७ बजे स्थानीयले शव देखिपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको प्रकृति हेर्दा हत्या भएको देखिए पनि प्रहरीले यसको विस्तृत जानकारी अनुसन्धानपछि खुलासा हुने जनाएको छ । घटनामा संलग्न भएको आशंकामा २ जनालाई नियन्त्रमा लिइएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।